
काठमाडौं : नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औं वार्षिकोत्सव मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयमा वार्षिकोत्सव सम्पन्न गरेको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले डिजिटल डिभाइड न्यूनीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने काममा कम्पनीले गरेको योगदान प्रशंसनीय भएको बताए । उनले सुशासनमार्फत नागरिक र सरकारको सम्बन्धलाई प्रगाढ बनाउनेतर्फ कम्पनीबाट उपलब्ध सेवा एवं कम्पनीका पूर्वाधारहरूको महत्वपूर्ण योगदान रहने बताए ।
सरकारले लिएका नीति एवं कार्यक्रम आत्मसात् गरी सरकारको नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्ने र कम्पनीको सुदृढीकरण र विकासमा सरकारको अभिभावकत्व सदैव रहने बताएका थिए । यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मीकुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात् गरी सर्वसुलभ रूपमा आमसेवाग्राहीलाई गुणस्तरीय सेवाप्रवाह गर्न नेपाल टेलिकमले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै नेपाल टेलिकमले देशको प्रमुख सेवा प्रदायकका रूपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसनजस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने बताइन् ।
उनले विशेष गरी दुर्गम क्षेत्रहरूमा डिजिटल सेवा पुग्नेगरी आवश्यक ढाँचा तयार पार्न जरुरी भएको र यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र मुलुकलाई डिजिटाइजेसन गर्ने अभियानलाई गति दिने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले त्यसैअनुसार नेटवर्क निर्माण र विस्तार गरी बजार अझै विस्तार गर्न सक्ने सम्भावना भएको र त्यसैअनुसार आम्दानीसमेत वृद्धि गर्न सकिने भएकाले त्यसतर्फ लाग्न सुझाव दिए । उनले नेपाल टेलिकमले प्राधिकरणमार्फत गरिरहेका विभिन्न परियोजना समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धा भनिए पनि नेपाल टेलिकमजस्ता संस्थाहरूले लाइसेन्स लिन र नवीकरण गर्न बढी रकम तिर्नुपरेको र आगामी दिनमा यसलाई अझै सच्याउन सकिनेतर्फ ध्यान दिन आग्रह गरे । कर्मचारी सरोकारका विषयमा सञ्चालक समिति र कम्पनी व्यवस्थापन सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र अवस्थाबारे छोटकारीमा जानकारी गराउँदै नेपाल टेलिकमले फोरजिरएलटीई सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको र परिणामस्वरूप सातै प्रदेशका ७७ जिल्लाका कुल ७ सय ४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार भएको बताए ।