
काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी छ । निर्वाचन आयोगका अनुसार ६० क्षेत्रका ७२ लाख मतपत्रको छपाइ सकिएको छ । त्यसमध्ये सम्बन्धित जिल्लामा पठाउन ५ हजार ८ सय २५ बाकस प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ ।
आगामी २१ फागुनमा निर्वाचन हुँदै छ । त्यसका लागि आयोगले मतपत्र छपाइ गरिरहेको हो ।
निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छापिँदै छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको छ । छपाइ सकिएको मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस पुगेका थिए । छपाइको अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले मतपत्र ढुवानीका लागि सुरक्षा व्यवस्थासहित तयारी भइरहेको बताए । उनका अनुसार हिमाली जिल्लामा मतपत्र ढुवानीका लागि सेनाको हेलिकोप्टर प्रयोग गरिनेछ ।
उनले भनेका छन्, ‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतपत्र छपाइ सकेर ढुवानीको तयारी हुँदै छ । हिमाली जिल्लामा मतपत्र ढुवानीका लागि सेनाको हेलिकोप्टर प्रयोग गरिनेछ ।’
यसैबीच, निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । जसमा आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउनुपर्ने भनिएको छ ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग लिन सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च बैंक खातामार्फत गर्नुपर्नेछ ।
आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन आयोगले जानकारीमा राख्ने भएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सामाजिक सञ्जालमा गरेको खर्च आयोगले जानकारीमा राख्ने जानकारी दिएका हुन् ।
‘अहिले कुन व्यक्तिले, कुन संस्थाले सोसल मिडियामा कति खर्च ग¥यो भनेर हेर्न गाह्रो छैन । प्रावधिक रूपमा हामी सहजै हेर्न सक्छौं,’ भट्टराई भन्छन्, ‘उहाँहरूले सोसल मिडियामा गरेको खर्चलाई पनि निर्वाचनको खर्चको सीमा छ, त्यो सीमाभित्र रह्यो कि रहेन भनेर हेर्छौं ।’
उम्मेदवारका लागि ठाउँअनुसार खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।
काठमाडौंका पाँचवटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौं क्षेत्र नम्बर १, ३, ६, ७ र ८ रहेका छन् । १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाखबराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाखबराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाखबराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको छ ।
निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ ।