
भनिन्छ, लोकतन्त्रमा हार कसैको हुँदैन । चुनावी प्रतिस्पर्धाले जित वा हार होइन, जनमतको परीक्षण मात्र गर्ने हो । तर केही प्रतिस्पर्धा त्यस्ता हुन्छन्, जसको चर्चा एउटा निर्वाचन क्षेत्रमा सीमित रहँदैन । पञ्चायतकालमा नानीमैया दाहालको चुनावी जित होस् वा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको उदय, निकै चर्चामा रह्यो ।
त्यसो त हरेक निर्वाचनमा नयाँ पात्र र रोचक नतिजा आउने गरेकै छन् । २०४८ को आमचुनावमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी निर्वाचित भएर राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाए । उनी प्रतिस्पर्धी दलका नेता थिए । तर नेपाली राजनीतिमा ‘हेभिवेट’ भनिने नेताहरूले बेलाबखत सामान्य उम्मेदवारबाट अप्रत्यासित चुनावी हार बेहोरेका छन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जो २०४६ सालको परिवर्तन यताका सात निर्वाचनमा अपराजित रहे । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा भने उनी उम्मेदवार छैनन् । देउवाबाहेक अरू शीर्ष नेताले भने बेलाबखत चुनावी पराजयको स्वाद पाइसकेका छन् ।
२०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको पक्षमा चुनावी लहर थियो । त्यतिबेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाबाट हारे भने एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं, वामदेव गौतम बर्दिया–१ बाट पराजित हुन पुगे । २०७० मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं १० बाट पराजित भए भने २०७४ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ–१ बाट पराजित भए । २०६४ मा चुनाव जितेकै कारण पार्टी नेतृत्वमा फर्किने अवसर पाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत चुनावमा आफ्नै पूर्वस्वकीय सचिवबाट हार बेहोर्नुपर्यो । शीर्ष नेतालाई जनताको शक्ति देखाएर हारको स्वाद चखाएका ती चर्चित पात्र अहिले के गर्दै छन् ?
0 0 0 0
पहिलो संविधान सभा निर्वाचनमा नेकपा (एमाले)को गढ मानिएको बर्दिया–१ बाट चुनाव हारेपछि वामदेव गौतम काठमाडौं उडे । विमानस्थलबाट घरसमेत नपसी उनी सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास नयाँबजार पुगेर सोधे, ‘मलाई किन हराउनुभयो ?’
तर चुनाव प्रचण्डले होइन, माओवादी ‘जनयुद्ध’बाट आएकी जिल्ला तहकी नेता सरला रेग्मीले जितेकी थिइन्, त्यो पनि झन्डै ४४ प्रतिशत मत ल्याएर । ४ हजार १ सय ८२ को फराकिलो मतान्तरसहित रेग्मीले १७ हजार ९ सय ५५ मत ल्याएर चुनाव जितेकी थिइन् । एमाले नेता गौतमले १३ हजार ७ सय ७३ मत मात्र प्राप्त गरेका थिए । रोचक त के छ भने चुनावमा पराजित उनै गौतम चार महिनापछि प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान तथा गृहमन्त्री बने । २०७० को दोस्रो संविधान सभा चुनावमा बर्दिया १ र प्युठान दुई क्षेत्रबाट जितेर सुशील कोइराला नेतृत्वको सरकारमा पनि उनै उपप्रधान तथा गृहमन्त्री भए ।
माओवादी सशस्त्र द्वन्द्वमा रेग्मीले श्रीमान गुमाइन् । तत्कालीन बाँके–बर्दिया इन्चार्ज यामप्रसाद चालिसे आयाम सुरक्षाकर्मीबाट मारिएका थिए । तर उनले हरेस खाइनन् । युद्धमा होमिएरै उनले धेरै कमान्ड हाँकिन् । २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्मा मनोनीत माओवादीका ८३ सांसद्मध्ये रेग्मी पनि एक थिइन् । लगत्तैको संविधान सभा निर्वाचनमा एमालेका तत्कालीन चर्चित नेता गौतमलाई पराजित गरेपछि उनी एकाएक चर्चित बनेकी थिइन् ।
संसदीय राजनीतिमा भने रेग्मी कम ब्याक हुन सकिनन् । युद्ध लडेकी रेग्मी नेकपा माओवादीको विभाजनमा ‘हार्डलाइन’ धारतर्फ लागिन् । जसका कारण पनि संसदीय राजनीतिबाट टाढा पुगेकी हुन् । अहिले उनी सक्रिय राजनीतिमा देखिँदैनिन् ।