२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

माधवलाई हराएर गुमनाम झक्कु

shivam cement
२०८२ माघ २३ गते ०६:३०
Shares
माधवलाई हराएर गुमनाम झक्कु

भनिन्छ, लोकतन्त्रमा हार कसैको हुँदैन । चुनावी प्रतिस्पर्धाले जित वा हार होइन, जनमतको परीक्षण मात्र गर्ने हो । तर केही प्रतिस्पर्धा त्यस्ता हुन्छन्, जसको चर्चा एउटा निर्वाचन क्षेत्रमा सीमित रहँदैन । पञ्चायतकालमा नानीमैया दाहालको चुनावी जित होस् वा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको उदय, निकै चर्चामा रह्यो । 

त्यसो त हरेक निर्वाचनमा नयाँ पात्र र रोचक नतिजा आउने गरेकै छन् । २०४८ को आमचुनावमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी निर्वाचित भएर राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाए । उनी प्रतिस्पर्धी दलका नेता थिए । तर नेपाली राजनीतिमा ‘हेभिवेट’ भनिने नेताहरूले बेलाबखत सामान्य उम्मेदवारबाट अप्रत्यासित चुनावी हार बेहोरेका छन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जो २०४६ सालको परिवर्तन यताका सात निर्वाचनमा अपराजित रहे । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा भने उनी उम्मेदवार छैनन् । देउवाबाहेक अरू शीर्ष नेताले भने बेलाबखत चुनावी पराजयको स्वाद पाइसकेका छन् ।

२०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको पक्षमा चुनावी लहर थियो । त्यतिबेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाबाट हारे भने एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं, वामदेव गौतम बर्दिया–१ बाट पराजित हुन पुगे । २०७० मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं १० बाट पराजित भए भने २०७४ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ–१ बाट पराजित भए । २०६४ मा चुनाव जितेकै कारण पार्टी नेतृत्वमा फर्किने अवसर पाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत चुनावमा आफ्नै पूर्वस्वकीय सचिवबाट हार बेहोर्नुपर्‍यो । शीर्ष नेतालाई जनताको शक्ति देखाएर हारको स्वाद चखाएका ती चर्चित पात्र अहिले के गर्दै छन् ? 

 

0 0 0 0 

राजनीतिको इतिहास कहिलेकाहीँ अनौठो मोडमा घुम्ने गर्छ । यस्तै, एउटा दुर्लभ उदाहरण हो– एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालको हारेर प्रधानमन्त्री बन्ने अवसर । प्रसंग २०६४ सालको संविधान सभा चुनावको हो ।

२०६२/६३ सालको संयुक्त जनआन्दोलनले मुलुकको राजनीतिक व्यवस्था बदलेको थियो । तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्ध अन्त्य भएर मुलुक नयाँ परिवेशमा अगाडि बढ्दै थियो । उक्त रापतापमा भएको २०६४ सालको संविधान सभाको चुनावमा माधव नेपाल दुई ठाउँबाट चुनाव लडे । मधेश र काठमाडौं जोड्ने भन्दै रौतहट १ र काठमाडौं २ मा उम्मेदवारी दिए तर जनताले पत्याएनन् । काठमाडौं २ बाट झक्कु सुवेदीले चुनाव जिते । त्यसपछि झक्कुप्रसाद सुवेदी ७० को दशकमा चर्चित भइरहे ।

यता माधव नेपालका निम्ति २०६४ सालको हार सामान्य थिएन । किनभने उनी दुई क्षेत्रबाट चुनाव जितेर राजनीतिक प्रभाव देखाउन चाहन्थे तर जनताले पत्याएनन् ।

२०६४ सालको चुनावबाट सबैभन्दा ठुलो दलका रूपमा तत्कालीन नेकपा माओवादी उदायो । तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतको चाहनामा उनै माधव नेपाल मनोनीत हुँदै संविधान सभामा प्रवेश गरे । तत्कालीन प्रधान सेनापति रुकमाङ्गद कटुवाललाई हटाउन खोजेपछि राजनीतिक परिस्थिति बदलियो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि २०६५ साउनमा प्रधानमन्त्री बनेका प्रचण्डले २०६६ वैशाखमा राजीनामा दिए । त्यसपछि उनै मनोनीत संविधान सभा सदस्य माधव नेपाल प्रधानमन्त्री बने । अर्थात् फेरि अर्को अनौठो घटना भयो– दुई/दुई ठाउँमा चुनाव हारेका व्यक्ति मनोनीत हुँदै प्रधानमन्त्री बन्न सफल भए । तर उनै नेपाललाई चुनावमा हराउने झक्कु सुवेदी केवल चर्चामा रहे ।

२०६४ सालको संविधान सभा नेपाली राजनीतिमा इतिहासको निर्णायक मोड थियो । उक्त चुनावको उद्देश्य नयाँ संविधान बनाउने थियो । पहिलो संविधान सभा संविधान बनाउन नसकेर विघटन भयो । २०७० सालमा फेरि संविधान सभाको निर्वाचन भयो । त्यसपछि माधव नेपालले हार बेहोर्नुपरेको छैन ।

२०७० को चुनाव माधव नेपालले रौतहटबाटै चुनाव जिते । २०७४ र २०७९ मा विजयी यात्रा कायम राखे । फेरि पनि नेपाल रौतहटबाट उम्मेदवार छन् । तर झक्कु सुवेदी खासै सुनिँदैनन् ।

झक्कु सुवेदी राजनीतिमा निरन्तर छन् । २०७४ सालको निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार भए, चुनाव जितेनन् । हाल राष्ट्रिय सभा सदस्य छन् । तर माधव नेपाललाई हराएको बेलाझैं उनी फेरि देखिन र सुनिन सकेका छैनन् । 

राजनीतिको यो अनौठो संयोगले दुई कुरा झल्काउँछ । 

पहिलो : राजनीति केवल चुनावी हार र जितमा मात्रै रहँदैन ।
दोस्रो : एजेन्डा, पार्टीभित्रको शक्ति र अन्तरपार्टी सम्बन्धले व्यक्तिको उचाइ नाप्छ । 

माधव नेपालले एउटा चुनाव हारे । तर संगठन र गठबन्धन रणनीति, नेटवर्क र नेतृत्व क्षमताका कारण प्रधानमन्त्री बने र लामो समयसम्म पार्टी नेतृत्वमा रहन  सफल भए । अहिले पनि नेतृत्व तहमै छन् । 

 झक्कु सुवेदीले माधव नेपाललाई चुनावमा हराए । तर उनी पार्टी र संगठनमा प्रभावी थिएनन् । झक्कु सुवेदी पार्टीमै थिए तर अर्को व्यक्तिको नेतृत्वको निरन्तरमा थिए र छन् । जसले उनलाई राजनीतिमा सक्रिय रहने वातावरण दिए तापनि राष्ट्रिय नेतृत्वको उचाइसम्म पुर्‍याउन सकेन ।

ताजा खबर

सम्बन्धित खबर