२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

झलनाथलाई संसद्को ढोका बन्द गराएका महेश

shivam cement
२०८२ माघ २३ गते ०६:३५
Shares
झलनाथलाई संसद्को ढोका बन्द गराएका महेश

तीन वर्षअघिको आमनिर्वाचन जितेका हुन्थे त पूर्वप्रधानमन्त्री झलनाथ खनालको परिचय संसदीय राजनीतिका अपराजित नेतामा दरिने थियो । २०६४ को माओवादी लहरमा समेत इलाम–१ बाट विजयी खनाल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुँदा पनि २०७९ को चुनावमा पराजित हुन पुगे । त्यो पनि आफ्नै पूर्वस्वकीय सचिव महेश बस्नेतबाट । 

राष्ट्रिय राजनीतिमा नदेखिएका बस्नेतले खनाललाई २ हजारभन्दा धेरै मतान्तरले हराएका थिए । खनालको २५ वर्षे विरासत पल्टाएका बस्नेत राष्ट्रिय राजनीतिमा अहिले पनि खासै परिचित छैनन् । तर स्थानीय राजनीतिमा भने लोकप्रिय, चतुर र चुनावी रणनीतिमा माहिर मानिन्छन् । त्यही लोकप्रियताले उनी इलाम नगरपालिकाको दुईपटक मेयर निर्वाचित भएका थिए । 

बस्नेत विद्यार्थी छँदै २०३०/३१ सालदेखि कम्युनिस्ट पार्टीको सम्पर्कमा थिए । २०३६ सालमा अनेरास्ववियुबाट महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित बस्नेतले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए । त्यसैबेला प्ररायुसंघको इलाम नगर सचिव हुँदै उनी पार्टीको नगर सचिव भए । उनी २०५४ को चुनावमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । २०५९ देखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै २०६३ देखि जिल्ला सचिवालय सदस्यका रूपमा क्रियाशील थिए ।

२०७३ मा नेकपा एमालेको जिल्ला सचिवमा निर्वाचित भएका बस्नेत एमालेको जिल्ला कमिटी अध्यक्ष बने । इलाम नगरपालिकाको २०५४–२०५९ मा मेयर हुँदा तत्कालीन उपमेयर कृष्णप्रसाद श्रेष्ठ र वडाध्यक्ष गणेश राईसमेतको तलब भत्ताबाट तिल्केनीमा १६ रोपनी जमिन खरिद गरी ३२ परिवार सुकम्बासीलाई लालपुर्जासहित बसोबास गराएर समुदायमा सकारात्मक छाप छाडेका थिए । इलामको सबै भूगोल, बसोबास, नागरिकको सामाजिक र आर्थिक अवस्थाका बारेमा गहिरो जानकारी राख्ने बस्नेतकै प्रस्तावित खाकाका आधारमा इलामको पुनर्संरचना भएको स्थानीय बताउँछन् । त्यसैको जगमा अडिएर बस्नेतले गत निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा पाँचवटा चुनाव निरन्तर जित्दै आएका खनाललाई पराजित गरेको स्थानीय तोयानाथ भट्टराई बताउँछन् । बस्नेतले २५ हजार ७ सय ५० र खनालले २३ हजार ८८ मत प्राप्त गरेका थिए । 

अर्थशास्त्रमा बिए र इतिहास विषयमामा स्नातकोत्तर गरेका बस्नेतले २०५१ देखि २०५४ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन पेसामा थिए । उनी कुनैबेला कुशल फुटबलरका रूपमा समेत चिनिएका पात्र हुन् । २०३५÷३६ तिर मेची अञ्चलबाट राष्ट्रिय फुटबल प्रतियोगिता खेले । त्यसबेलाको चर्चित राष्ट्रिय प्रतियोगिता अन्तरनगर फुटबल प्रतियोगिता, इन्टर युनिभर्सिटी कम्पिटिसन प्रतिस्पर्धामा सहभागी भएका उनको खेल जीवनको सुखद अनुभव छ । माईभ्याली स्पोर्टिङ क्लबका संस्थापक अध्यक्षसमेत रहेका बस्नेतको नेतृत्वमा इलाममा भूकम्पपीडित स्मृति कप फुटबल हुने गरेको थियो । सबै क्षेत्रमा सक्रिय नेता बस्नेतलाई एमालेले यसपटक टिकट नदिएपछि खासै चर्चामा छैनन् । उनी भने पार्टीका उम्मेदवार जिताउन घरदैलोमा सक्रिय छन् । 

ताजा खबर

सम्बन्धित खबर