२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

प्रचण्डलाई पराजय चखाएका राजेन्द्र

shivam cement
२०८२ माघ २३ गते ०६:४०
Shares
प्रचण्डलाई पराजय चखाएका राजेन्द्र

दशक लामो सशस्त्र विद्रोहको शान्तिपूर्ण अवतरणपछि संसदीय राजनीतिमा फर्किएका नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड २०६४ यता निरन्तर संसद्मा छन् । तर उनी अपराजित नेता भने होइनन् । २०७० सालको संविधान सभा निर्वाचनमा उनी कांग्रेसका राजन केसीसँग चुनाव हारे । दुई तिहाइ बहुमत जित्ने महत्वाकांक्षा बोकेका प्रचण्डका लागि काठमाडौं–१० को चुनाव अप्रत्यासित मात्र थिएन, देशभर पराजयको सन्देशसमेत थियो । एकपछि अर्को हारको खबर आउन थालेपछि माओवादी केन्द्रले मतपेटिका साटिएको आरोप लगाउँदै मतगणना बहिष्कार नै गरेको थियो । हेबिवेट प्रचण्डलाई हराएर कांग्रेसका खासै नचिनिएका नेता केसी राजनीतिक चर्चाको केन्द्रमा पुगे । केसीले २० हजार मत ल्याउँदा प्रचण्डले १३ हजार हाराहारीमा मत पाएका थिए । 

‘म्यान अफ दि इलेक्सन’को चर्चा कमाएका उनी त्यसयताका हरेक निर्वाचन जित्दै आएका छन् । कांग्रेसले कीर्तिपुर क्षेत्रलाई वामपन्थीको ‘लालकिल्ला’का रूपमा लिने गरेको थियो । २०१५ सालदेखिका कांग्रेसले चुनाव नजितेको यो क्षेत्रमा केसीले ‘लालकिल्ला’ भत्काइदिए । 

२०७४ सालको निर्वाचनमा उनले २४ हजार १ सय ९० भोट पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा गठबन्धनका उम्मेदवार माओवादीका नेता हितमान शाक्यले २१ हजार ९ सय ७ मत लिए । पछिल्लो २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी एमालेका हिमेश केसीलाई हराउँदै तेस्रोपटक विजयी भएका  थिए । केसीले हिमेशलाई २ हजार ६ सय ६२ मतको अन्तरले हराएका हुन् ।  केसीले १४ हजार ४ सय ४८ मत प्राप्त गर्दा हिमेश केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका थिए । 

काठमाडौं–१० मा लगातार तीनवटा चुनाव जितेका केसी यसपटक चुनावी मैदानमा छैनन् । प्रतिनिधि सभामा निरन्तर तीन कार्यकाल जितेको भन्दै आफैं चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामा अब चुनाव नलड्ने भनेर मैले कही सिफारिस नै नगर्नु भनेको थिएँ,’ उनले मध्यान्हसँग भने, ‘पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकाले आफूबाटै यो कामको अगुवाइ गरेको हुँ ।’

कीर्तिपुर ६, चोभारका स्थायी बासिन्दा केसीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । चारपटकसम्म कांग्रेस महासमिति सदस्य भएका केसी कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भएर काम गरेका गरे । तीनपटक सांसद भए पनि मन्त्री बन्न नपाएका उनी पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरेर परिवर्तनको पक्षमा उभिएका छन् । 

ताजा खबर

सम्बन्धित खबर