
काठमाडौं : सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले माघ २२ गतेदेखि माघ २७ गतेसम्म प्रविधि एक्स्पो आयोजना गरेको छ । काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल’ नाम दिइएको चौथो संस्करणको एक्स्पो आयोजना गरेको हो ।
ग्राहक, बिक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको वर्तमान अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले सो एक्स्पो आयोजना गरिएको सागर ग्रुपले जनाएको छ । सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस प्रकारका कार्यक्रमले ब्राण्ड र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।
एक्स्पोमा प्रमुख प्रायोजक ब्राण्ड एक्सल्याबसहित ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनईसी, माइक्रोप्याक, आईडिपी तथा ओडो लगायतका ब्राण्डहरूका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ । सो अवसरमा सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरू स्वयं उपस्थित भई आवश्यक जानकारी, डेमो तथा परामर्श प्रदान गर्नेछन् ।
एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट तथा अतिरिक्त सेवा प्राप्त गर्नेछन् । साथै एक्सल्याब, ब्रदर, कोनिका मिनोल्टाले नयाँ उत्पादनहरू सार्वजनिक गर्नुका साथै सहभागीहरूका लागि विभिन्न प्रकारका प्रोडक्ट ट्रेनिङ कार्यक्रम पनि सञ्चालन गर्नेछन् ।
६ दिनसम्म सञ्चालन हुने यस एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनका लागि आउने आगन्तुकहरूलाई हाई टी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकको भनाइ छ । त्यस्तै, हरेक दिन एक जना भाग्यशाली आगन्तुकलाई लक्की ड्रमार्फत माइक्रोप्याकको गेमिङ कम्बो सेट उपहार प्राप्त गर्नेछन् ।