मध्यान्ह संवाददाता
काठमाडौं, २२ वैशाख । वैदेशिक रोजगार विभागले ठगी गर्ने दश जनाविरूद्व मुद्दा दायर गरेकोे छ । विभागले बिहीबार वैदेशिक रोजगार न्यायाधिकरणमा ८ जना ट्राभल्स एजेन्सीका सञ्चालकसहित दश जनाविरुद्व मुद्दा दायर गरेको हो ।
इन्टरनेशनल एक्स्पो एण्ड टुर्स कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदीसहितका व्यक्तिले माल्टा पठाउने भन्दै १ सय २२ जनासँग प्रतिव्यक्ति २ लाख ३५ हजार रुपैयाँसम्म असुलेको विभागका सूचना अधिकारी एवं निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।
उनका अनुसार सञ्चालक सुवेदी लगायतका व्यक्तिहरूले ठगीमा परेका जीवन ढुंगेलसहित १ सय २२ जनाबाट १ करोड ६४ लाख ८ हजार रुपैयाँ ठगी गरेकोे भन्दै त्यसको ५० प्रतिशत हर्जना ८२ लाख ४ हजार गरी २ करोड ४६ लाख १२ हजार रुपैयाँ विगो असुल उपर हुनुपर्ने माग गरेका छन् ।
त्यसै, विभागले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका सदीक्षा गुरुङ र खिनशोभा गुरुङविरूद्व मुद्दा दायर गरेको छ ।अनुमति विना वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा न्याधिकरणमा मुद्दा दायर गरिएको हो ।
त्यसैगरी विभागले पोखराका कुमार गुरुङलाई क्यानडामा आकर्षक रोजगारी उपलब्ध गराईदिने प्रलोभन दिएर ४१ लाख ४२ हजार ५ सय रुपैयाँ ठगी गरेकोे भन्दै त्यसको ५० प्रतिशत हर्जना गरी ६२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ असुल गर्नुपर्ने दावी गरेको छ । विभागले गत चैत २४ गते गुरुङलाई पक्राउ गरेकोे थियोे ।
वैदेशिक रोजगार ऐनको दफा १० मा अनुमति नलिई वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाएको छ । यस्तै ऐनको दफा ४३ ले पीडितलाई विगो र त्यसको ५० प्रतिशत हर्जना र सात वर्षसम्म कैद गर्ने व्यवस्था गरेकोे छ । यस्तै विभागले आकर्षक वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्टेन्सीबाट ठगीको धन्धा व्यापक रूपमा बढेको निष्कर्ष निकालेको छ ।
राजधानीमा सञ्चालित दर्जनौँ शैक्षिक कन्सल्टेन्सीलाई प्रहरीले पटक–पटक कारबाही चलाउँदै आएको भएपनि कन्सल्टेन्सीबाट वैदेशिक रोजगारको नाममा ठगी गर्ने धन्दा भने नरोकिएपछि विभागले शैक्षिक कन्सल्टेन्सीहरू माथि अनुगमनको माग गरेकोे छ ।
वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर एक लाख रुपैयाँ मात्र ठगी गरिएको उजुरी आएकोे तर शैक्षिक कन्सल्टेन्सीका मुख्य व्यक्ति फरार भई उनीहरूका कर्मचारी मात्र पक्राउ पर्ने गरेको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर रकम उठाउने र त्यसपछि सम्पर्कविहीन भई ठग्ने गरिएको भन्दै विभागले शैक्षिक कन्सल्टेन्सीहरूको अनुगमनको जिम्मेवारी पाएका सरकारी निकायहरूबाट अनुगमन र कारबाहीको समेत आग्रह गरेकोे छ । शैक्षिक कन्सल्टेन्सीहरू दर्ता शिक्षा मन्त्रालय अन्तर्गत हुने गरेका छन् ।
वैदेशिक रोजगारीमा जानुपूर्व वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार श्रम स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको भन्दै बिना श्रम स्वीकृति वैदेशिक रोजगारीमा नजान पनि विभागले सचेत गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies