
काठमाडौंः जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिवारदेखि पुनः सञ्चालनमा आएको हो । पुनः सञ्चालनमा आएको सो भाटभटेनीको शुभारम्भ गर्दै प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना गरे ।
उनले जेनजी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना दुःखद् भएपनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको बताए । प्रवन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुन सञ्चालनमा ल्याउने समेत बताए। उनले जेनजी आन्दोलनको दुःखद् घटनाले भाटभटेनीमात्रै नभएर सिंगै नेपाललाई राम्रो हुने दाबी समेत गरे । नागासाकी र हिरोसीमा ध्वस्त भएपछि जापान बनेजस्तै जेन–जी आन्दोलनले ध्वस्त बनाएको नेपाल पनि अब राम्रो हुने प्रवन्ध निर्देशक गुरुङको विश्वास थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो । ती सबै सुपरमार्केटहरुको सञ्चालनमा ढिलाई नहुने प्रवन्ध निर्देशक गुरुङले बताए ।