२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

shivam cement
२०८२ माघ २५ गते १८:५४
Shares
नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

काठमाडौं : आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाल दुई पटकको विश्वविजेता इंग्ल्यान्डसँग पराजित भएको छ । मुम्बईस्थित वाङ्खेडे रंगशालामा भएको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमात्रै बनाउन सक्यो । जितका लागि नेपाललाई अन्तिम ओभरमा १० रन चाहिएको थियो । तर इंग्ल्यान्डका बलर साम करनले उत्कृष्ट बलिङ गरेपछि नेपालले अन्तिम ओभरमा ५ रनमात्रै बनाउन सक्यो ।

सन् २०२४ मा भएको टी–२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग १ रनले पराजित भएको थियो । अहिले सो हारलाई सम्झाउने गरी नेपाल जित नजिक पुगेर पनि हार बेहोर्न बाध्य भयो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । २९ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३४ बलमा २ चौका र २ छक्को सहयोगमा ३९ रन बनाए । लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए पनि नेपालको हार टार्न सकेनन् । सो क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेलले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशलले १७ बलमा ४ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । अर्का ओपनर आसिफ शेखले ९ बलमा १ चौकाको सहयोगमा ७ रन बनाए । आरिफ शेख ८ बलमा १ छक्काको सहयोगमा १० रन बनाएर आउट भए भने गुल्सन झा २ बलमा १ रन बनाएर आउट भए । करण केसी १ रनमा नटआउट रहे ।

इंग्ल्यान्डका लागि लियम डवसनले २ तथा लुक उड, विल ज्याक्स, जोफ्रा आर्चर र साम करनले १–१ विकेट लिए ।

त्यसअघि मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि ज्याकोब बेथेलले अर्धशतकीय इनिङ खेले । बेथेलले ३५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५५ रन बनाए । यसैगरी कप्तान ह्यारी ब्रुकले पनि अर्धशतकीय इनिङ खेले । ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।

यस्तै विल ज्याक्सले अविजित ३९ रन बनाए । १८ बले खेलेका ज्याक्सले ४ छक्का र १ चौका प्रहार गरे । जस बटलरले १७ बलमा ५ चौकाको सहयोगमा २६ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिए । शेर मल्लले यही खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका हुन् । उनको डेब्यु शानदार पनि बन्यो । शेर मल्ल डेब्यू खेलको पहिलो बलमै विकेट लिन सफल भए । उनले इंग्ल्यान्डका ओपनर फिल साल्टको विकेट लिएका हुन् ।

इंग्ल्यान्डविरुद्धको खेलमार्फत शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पनि टी–२० विश्वकपमा डेब्यू गरे ।

सम्बन्धित खबर