
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तानको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् ।
पिएसएलको ११औं संस्करणका लागि आयोजित अक्सनमार्फत दीपेन्द्रलाई इस्लामाबाद युनाइटेडले ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ)मा अनुबन्ध गरेको हो । अक्सन बुधबार सम्पन्न भएको थियो ।
पिएसएल आगामी मार्च २६ देखि मे ३ सम्म सञ्चालन हुनेछ । इस्लामाबाद युनाइटेड पिएसएल इतिहासकै सफल टोलीमध्ये एक मानिन्छ । उसले हालसम्म तीन पटक उपाधि जितिसकेको छ । टोलीले पछिल्लो पटक सन् २०२४ संस्करणको उपाधि आफ्नो नाममा लेखाएको थियो ।
यससँगै दीपेन्द्र पिएसएल खेल्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पिएसएलमा सहभागिता जनाइसकेका छन् ।
नेपाली क्रिकेटका प्रमुख अलराउन्डरमध्ये एक मानिने दीपेन्द्रको पिएसएल सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।