स्थानीय चुनावका लागि घर फर्कनेहरुले बुधबार सहज यातायात सेवा पाउन सकेनन् । राजधानी उपत्यकामा बस पर्खने र चढ्नेहरुको भीड मुख्य आकर्षण बन्यो । आमसञ्चार माध्यम र सामाजिक सञ्जाल यातायात सेवा नपाएको मानिसहरुको भीड छायो । असहजताका साथ राजधानी उपत्यकाबाट गाउँ फर्कनेहरुको संख्या मात्रै एकैदिन झण्डै तीन लाख हाराहारी थियो । यसले चुनावको उत्सव देशभर लागेको प्रष्ट हुन्छ । राजधानी उपत्यका बाहेक अन्य ठूला शहरमा रहेकाहरु पनि आफ्नो मतदान केन्द्रमा पुगे । मतदान गर्न आफ्नै मतदान केन्द्र पुग्नुपर्ने भएकाले विभिन्न पेशा, व्यावसाय र अध्ययनका क्रममा घरथलो बाहिर रहेकाहरु गाउँ फर्किएका हुन् । घर फर्कनेहरुको भीडले पनि स्थानीय चुनाव प्रभावकारी बन्ने अनुमान गर्न सकिन्छ ।
चुनावका अन्य दृष्यले पनि मुलुक महाउत्सवमा मोहिएको आभास दिएको छ । उम्मेद्वारी दर्ता, उम्मेद्वारहरुको प्रचार, संकल्प प्रस्ताव र मतदाता रिझाउन भएका अन्य गतिविधिले मुलुक चुनावमय बनेको आभाश दिलाएको थियो । मतदानका लागि फर्कनेहरुको भीडले अझ बढी आभाश दिलाएको छ । अर्थात् भोलि मतदान गर्न मतदाता उत्सुक छन् । उत्सुकताका अनेक आयाम हुन सक्छन् । तर मुख्य कारण भने लोकतन्त्रको प्रत्याभूति हो । आगामी पाँच वर्षका लागि आफ्नो प्रतिनिधि चयन गर्न लामो यात्रा पार गरेर मतदाता मतदान केन्द्र पुग्दैछन् । भोलि मतदानसँगै आफ्नो उम्मेद्वारलाई विश्वास सुम्पनेछन् । जसरी अघिल्लो चुनावमा मतदाताले विश्वास सुम्पिएर जनप्रतिनिधि चयन गरे । त्यही चक्र यो चुनावपछि पनि दोहोरिनेछन् ।
यसपछि भने निर्वाचित जनप्रतिनिधिको दायित्व शुरु हुनेछ । मतदाताको दायित्व मन परेका उम्मेद्वारलाई मत सम्पनु हो । जो सुम्पने प्रक्रियामा छन् । मतदाताले मत दिने आधार भनेको उम्मेद्वारहरुको प्रतिबद्धता नै प्रमुख आधार हो । दलगत वा स्वतन्त्र उम्मेद्वारी मार्फत् व्यक्त गरेको प्रतिबद्धताकै आधारमा मतदाताले आफ्नो विश्वास सुम्पनेछन् । त्यस पछिका पाँच वर्ष आफैले व्यक्त गरेको प्रतिबद्धता बमोजिम जनप्रतिनिधिले कार्य सम्पादन गर्नुपर्नेछ । तर यसअघि भने चुनाव जितेपछि मतदाता बिर्सने रोग देखिने गरेको गुनासो सुनिने गरेको थियो । फेरि पनि त्यो आशंका कायमै छ । तसर्थ आफ्ना सबै काम थाती राखेर मतदान केन्द्रसम्म पुगेका मतदाताको भावना सम्मान गर्दा जनप्रतिनिधिको उचाइ मात्रै बढ्दैन, लोकतन्त्रको गरिमा समेत बढ्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies