
बारा : आमजनता पार्टीका नेता तथा बारा–१ का उम्मेदवार बिजय यादवले बुधबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
कोल्हबीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले प्रत्यक्ष मतदाता तथा स्थानीय विकासका योजनाबारे आफ्नो अठोट सार्वजनिक गरेका हुन् । कार्यक्रममा आमजनता पार्टीका वरिष्ठ उपाध्यक्ष तथा समानुपातिक उम्मेदवार एलिजा गौतम, अन्य समानुपातिक उम्मेदवार र पार्टीका प्रतिनिधिहरूको पनि उपस्थिति थियो । एलिजा गौतमले बारा–१ क्षेत्र नेपालको राजनीतिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै यहाँका मतदाता सचेत र जागरुक रहेको बताइन् ।
उम्मेदवार यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्रमार्फत मुख्य रूपमा विकास र जनकल्याणका योजनाहरूको प्रतिवद्धता जनाएका छन् । उनका योजनाहरूमा ऐतिहासिक सिम्रोनगढ पर्यटकीय क्षेत्रलाई विश्व सम्पदामा पु¥याउने पहल, भन्सार स्थापनाका लागि सशक्त आवाज उठाउने, जडिबुटीको आधुनिक व्यवस्थापन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण गर्ने, तथा पतालगंगा एरियालाई व्यवस्थित गरी पर्यटकीय स्थल विकास गर्ने योजना उल्लेख गरिएको छ ।
साथै, यादवले बेरोजगार युवाहरूको लागि रोजगार सृजनाका विभिन्न आयामहरू पहिचान गरी सम्बन्धित कानुनमा आवश्यक संशोधन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यादवले आफ्नो चुनावी एजेन्डा मार्फत बारा–१ को समग्र विकास, रोजगार सृजना र पर्यटन प्रवर्धनमा केन्द्रित हुने स्पष्ट पारेका छन् ।