२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

तनहुँमा आचारसंहिता उल्लंघनका १६ उजुरी

shivam cement
२०८२ माघ २९ गते १४:४८
Shares
तनहुँमा आचारसंहिता उल्लंघनका १६ उजुरी

तनहुँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी १६ वटा उजुरी परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लंघनका १६ वटा उजुरी परेका बताउँदै त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टिकरण लिई आचारसंहिताको कार्यान्वयनका लागि सचेत गराइएको जानकारी दिए । 

तनहुँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार श्रीराम न्यौपानेद्वारा केही सामुदायिक विद्यालयमा वितरण गरिएको डिजिटल स्मार्ट बोर्डमा तस्बिर/संकेत भएका बारेमा उजुरी परेपछि उक्त बोर्डबाट न्यौपानेको फोटो हटाउन लगाइएको प्रजिअ तिवारीले बताए । उनका अनुसार सोबाहेक राजनीतिक दलले भीड प्रर्दशनी गरेको, झण्डा धेरै प्रयोग गरेको, सरकारी कर्मचारी पनि निर्वाचनको प्रचारमा हिडेकोलगायत विषयमा उजुरी परेका छन् ।

उजुरीका बारेमा सम्बन्धित पक्षलाई सचेत गराई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले उल्लेख गरे । निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।

आचारसंहिता उल्लंघन अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलाई जिम्मेवारी तोकिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको आवश्यक पर्ने भएकाले आचारसंहिता पालना गर्न अनुरोध गरिएको रेग्मीले बताए ।

प्रचारप्रसारका क्रममा कानुन र निर्वाचन आचारसंहिताको पालना अनिवार्य गर्नुपर्ने उल्लेख गर्दै रेग्मीले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकार भएका पक्षलाई मर्यादित व्यवहार गर्न आग्रह गरे ।

सम्बन्धित खबर