
रुकुम पूर्व : नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व पुगेका छन् ।
चुनावी अभियानअन्तर्गत रुकुम पूर्वलाई निर्वाचन क्षेत्र बनाएर प्रतिस्पर्धामा उत्रिएका प्रचण्डले भूमे गाउँपालिका–१ लुगुममा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए । सो अवसरमा उनले लुगुमलाई नमूना गाउँका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणसँगै प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धनमार्फत लुगुमलाई पर्यटकीय तथा सांस्कृतिक दृष्टिले आकर्षक गन्तव्य बनाउन सकिने उनले बताए । परम्परागत झाँक्री नाच तथा रुकुमका पाखा–पखेराहरूमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले समग्र रुकुमको विकासका लागि आफू प्रतिबद्ध रहेको दोहोर्याए ।
कार्यक्रममा भूमे–१ लुगुमका वडाध्यक्ष मनकाजी पुनले स्थानीयवासीका विभिन्न मागहरू प्रस्तुत गरेका थिए । त्यस्तै, सिद्धचौर माध्यमिक विद्यालय लुगुमका प्रधानाध्यापक रामबहादुर थापाले विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक सुधारसम्बन्धी माग राखेका थिए । उठाइएका मागहरू सम्बोधन गर्न पहल गर्ने प्रचण्डले आश्वासन दिएका छन् । जिल्ला पार्टीका अनुसार प्रचण्ड आगामी एक साता रुकुम पूर्वमै रही विभिन्न स्थानमा जनभेटघाट तथा चुनावी कार्यक्रमलाई निरन्तरता दिने कार्यसूची रहेको छ ।