शोभाखर पन्थी/मध्यान्ह
अर्घाखाँची, ११ जेठ । सन्धिखर्क नगरपालिकाले नगरभित्रका बासिन्दाको न्यूनतम विद्युत महसुल भुक्तानी गरि दिने भएको छ । नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेसँगै जनताको न्यूनतम विद्युत महसुस भुक्तानी गर्ने बताए ।
उनले नगरपालिकाभित्र संचालित लिफ्टिङ्ग खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत् महशुल तिरिदिने, वर्थिङ सेन्टर वा अस्पतालमा सुत्केरी हुने महिलालाई पोषण स्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने, पाणिनी बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत ४० जना छात्र–छात्रालाई निःशुल्क रुपमा पढ्ने प्रबन्ध मिलाउने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
निर्वाचनको समयमा मातृ शोकमा परेका नगर प्रमुख श्रेष्ठले केही दिन पछि बुधबार जिल्ला न्यायाधीश वासुदेव न्यौपानेबाट सपथ लिएका थिए । सपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका उनले शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन र दिगो पुर्वाधार–समृद्ध सन्धिखर्क निर्माणको मूल आधार भन्ने मान्यतामा रही गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तथा कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गरेर वैदेशिक पलायन रोक्ने बताए ।
उनले व्यक्तिगत र दलिय स्वार्थ भन्दामाथि उठेर सन्धिखर्क नगरपालिकाको समग्र विकासको महान अभियानमा सबै सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले आफुले पदभार ग्रहण गरि रहँदा नगर भित्रका सिमान्तकृत वर्गका जनतालाई स्मरण गरिरहेको भन्दै उनीहरुको जीवनस्तरमाथि उठाउन निरन्तर क्रियाशिल रहने बताए ।
नगर प्रमुख श्रेष्ठले स्थानीय सरकार संचालन ऐनले दिएका अधिकारहरु र विधिको शासनको सिमा भित्र रहेर निष्पक्षता, तटस्थता, पारदर्शिता, जवाफदेहिता, सहभागीता र भ्रष्टाचारमा शुन्य सहनशीलता जस्ता सुशासनका आधारभूत मान्यतालाई कडाइका साथ पालना गरी इमानदारी र निष्ठा पूर्वक काम गर्ने गराउने समेत प्रतिबद्धता जनाए । श्रेष्ठले बुधबार नै नगर उपप्रमुख मिश्रा आचार्य तथा वडा अध्यक्ष र सदस्यहरुलाई समेत सपथ ग्रहण गराएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies