२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आयुर्वेद चिकित्सालयमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालन

shivam cement
रामहरि कार्की
२०८२ फागुन १४ गते २२:१३
Shares
आयुर्वेद चिकित्सालयमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालन

ललितपुर : ललितपुरको ताल्छिखेलस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ ।

चिकित्सालयले बढ्दो मानसिक समस्या र आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक महिनाको दोस्रो र चौथो सोमबार बिहान ८ बजेदेखि मानसिक तथा मनोविज्ञान विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर करिब १० प्रतिशत मानिस मानसिक रोगबाट पीडित छन् । चिन्ता, अवसाद, आघातपछिको मानसिक तनाव, द्विध्रुवीय मानसिक अवस्था, सीमारेखीय व्यक्तित्व समस्या र खानपान सम्बन्धी समस्या प्रमुख मानसिक समस्याका रूपमा देखिएका छन् । 

चिकित्सालयका सेवाअन्तर्गत डर, अनावश्यक चिन्ता, निन्द्रा नलाग्ने, एकान्त बस्न चाहने जस्ता लक्षणको परीक्षण र उपचार गरिनेछ । महिलामा महिनावारीको समयमा देखिने चिडचिडापन, मनस्थितिमा उतारचढाव, शरीर दुखाइ, निन्द्रा समस्या, चिन्ता र अवसादको पनि परीक्षण गरिनेछ ।

साथै माइग्रेन र अन्य टाउको दुखाइको पनि परीक्षण हुनेछ । उपचारका क्रममा आवश्यक औषधि उपलब्ध गराइने साथै शिरोधारा, शिरोबस्ति, शिरोपिचु र नस्य जस्ता आयुर्वेदिक उपचार विधि पनि प्रयोग गरिने चिकित्सालयका प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् । डा.नेपालले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई समयमै परीक्षण गराएर उपचार सेवा लिन आग्रह गरेकी छिन् । 

सम्बन्धित खबर