
काठमाडौं : नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढेको छ । वर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ६५ वर्षे उमेरहदका कारण आउँदो चैत १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।
पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ संविधानको धारा २८४मा छ । यसअनुसार न्यायपरिषद्ले नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
भावी प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले ६ जना न्यायाधीशको रोस्टर संवैधानिक परिषद्मा पठाएको छ । रोस्टरमा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम रहेको छ ।
अब संवैधानिक परिषद्ले उनीहरूमध्येबाट एकजनाको नाम नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ ।
संविधानको धारा १२९मा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था छ । सोही धाराको उपधारा २मा न्यायपरिषद्ले पठाएको रोस्टरको आधारमा संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।
संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ हुन्छ । सुनुवाइका लागि संघीय संसद्अन्तर्गत १५ सदस्यीय संसदीय सुनुवाइ समिति छ । २१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि यो समिति गठन हुनै बाँकी छ ।
संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ जना र राष्ट्रिय सभाबाट तीनजना सदस्य हुन्छन् । यो समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन भएपछि थप प्रक्रिया अघि बढ्छ । अर्थात्, संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका व्यक्तिलाई राष्ट्रपतिले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
नाम सिफारिस गर्ने संवैधानिक परिषद् भने ६ सदस्यीय हुन्छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् ।
प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा भने संवैधानिक परिषद्मा नेपाल सरकारको कानुन तथा न्याय मन्त्री सदस्यका रूपमा रहन्छन् ।