
ललितपुर : मातृशिशु स्वास्थ्य सुधार तथा स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले स्तनपायी आमाहरूलाई दुग्धवर्धक जडिबुटी तथा अन्य औषधि वितरण कार्यक्रम सञ्चालन गरेको छ । चिकित्सालयका अनुसार आमा र बच्चाको स्वास्थ्य सुधार गर्न, कुपोषणजन्य रोगबाट जोगाउन तथा सुत्केरी महिलामा पर्याप्त दुध उत्पादन बढाउने लक्ष्यसहित शतावरी चूर्ण वितरण कार्यक्रम सुरु गरिएको हो ।
कार्यालय प्रमुख डा.पुनम नेपालका अनुसार कार्यक्रमले मातृशिशु स्वास्थ्य सुदृढ बनाउन सहयोग गर्नेछ । उनका अनुसार आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने, स्तनपानको महत्वबारे स्तनपायी महिलालाई जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृशिशु मृत्युदर घटाउने उद्देश्य राखिएको छ ।
कार्यक्रमअन्तर्गत ६ महिनासम्मका सुत्केरी आमाहरूलाई दैनिक रूपमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालयमै निःशुल्क औषधि वितरण गरिनेछ ।
औषधि लिन आउँदा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा खोप कार्ड ल्याउनुपर्ने व्यवस्था गरिएको छ । सुत्केरी आमाका अभिभावकले पनि सम्बन्धित कार्ड लिएर आएमा औषधि उपलब्ध गराइने चिकित्सालयले जनाएको छ ।
त्यस्तै, ललितपुर महानगरपालिका–१४ सँगको सहकार्यमा वडा क्षेत्रभित्र रहेको प्राथमिक स्वास्थ्य चौकीमा पनि प्रत्येक महिनाको दोस्रो र चौथो आइतबार सो औषधि निःशुल्क वितरण गरिनेछ ।
चिकित्सालयका अनुसार शतावरीले सुत्केरी आमामा दुध उत्पादन बढाउन मद्दत गर्नुका साथै महिलाको हर्मोनलाई प्राकृतिक रूपमा सन्तुलनमा राख्न सहयोग गर्दछ । यसले बच्चाको शारीरिक तथा मानसिक वृद्धि–विकासमा पनि सकारात्मक प्रभाव पार्ने तथा कुपोषणजन्य रोगको रोकथाममा सहयोग पुग्ने विश्वास गरिएको छ ।