
ललितपुर : जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले आत्महत्यासम्बन्धी संवेदनशील विषयमा जिम्मेवार र सचेत समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागितामा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा आत्महत्या न्यूनीकरणमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिकाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा आत्महत्या जस्तो संवेदनशील विषयलाई सनसनीखेज ढङ्गले प्रस्तुत नगरी जिम्मेवार, तथ्यपरक र सकारात्मक सन्देशसहित रिपोर्टिङ गर्न सञ्चारकर्मीलाई आग्रह गरिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका कार्यालय प्रमुख डा. खगेश्वर गेलालले आत्महत्या दर घटाउन सरकारी निकायले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले यस अभियानमा सञ्चार माध्यमले पनि सचेतनामूलक र सकारात्मक सन्देश प्रवाह गरेर महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे ।
उनले भने,‘नेपालमा मानसिक स्वास्थ्य समस्या लगायत विभिन्न कारणले आत्महत्या हुने गरेको देखिन्छ । यस्ता समस्या न्यूनीकरण गर्न सरकार मात्र होइन, समाजका सबै पक्षको साझा प्रयास आवश्यक छ ।’
उनका अनुसार ललितपुरस्थित मानसिक अस्पतालमा मनोपरामर्श सेवा उपलब्ध रहेको छ । मानसिक समस्या भोगिरहेका व्यक्तिले २४ घण्टा सञ्चालनमा रहने ११६६ नम्बरमा निःशुल्क फोन गरेर आफ्नो समस्या राख्न र आवश्यक मनोपरामर्श लिन सक्नेछन् ।
कार्यक्रममा मानसिक अस्पताल ललितपुरका मनोपरामर्शदाता डा.वासुदेव कार्कीले नेपालमा दैनिक करिब २० जनाले विभिन्न कारणले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको जानकारी दिए । उनका अनुसार आत्महत्याको प्रयास गर्नेहरूको संख्या अझ धेरै हुने गरेको छ । उनले यस्तो अवस्थाको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या हुने बताउँदै समयमै परामर्श र सहयोग प्राप्त गर्न सके धेरै समस्या समाधान हुन सक्ने बताए ।
डा. कार्कीले भने, ‘मानसिक स्वास्थ्यसम्बन्धी परामर्शका लागि हामीले केही वर्षदेखि ११६६ निःशुल्क हेल्पलाइन सञ्चालन गरेका छौं । तर अपेक्षाअनुसार कल र सन्देश आउने गरेको छैन । धेरै नेपाली मानसिक समस्या भए पनि खुलाउन हिच्किचाउँछन् ।’ उनले सञ्चार माध्यमले मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवाबारे प्राथमिकताका साथ समाचार प्रसारण गरेमा नागरिकमा सचेतना बढ्ने र आवश्यक सेवा लिन सहज हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, सिनियर कन्सल्टेन्ट फिजीसीएन डा.विनिता ढुंगेलले विश्वभर नसर्ने रोगसम्बन्धी समस्यामध्ये मानसिक स्वास्थ्य समस्या करिब १८ प्रतिशत रहेको उल्लेख गरिन् । उनले आत्महत्या मानवअधिकारसँग समेत जोडिएको गम्भीर सामाजिक विषय भएकाले यसको रिपोर्टिङ गर्दा पत्रकारहरूले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिइन् । डा.ढुंगेलले संवेदनशील घटनाको समाचार लेख्दा प्रयोग हुने भाषा, शीर्षक र प्रस्तुतिले समाजमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याइन् ।