२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

‘सूचनाको हक प्रवर्धनमा पत्रकारको भूमिका महत्वपूर्ण’

himalayanlife
रामहरि कार्की
२०८२ चैत १२ गते २१:२५
Shares
‘सूचनाको हक प्रवर्धनमा पत्रकारको भूमिका महत्वपूर्ण’

ललितपुर : ललितपुरमा सूचनाको हक प्रवर्धनमा पत्रकारको भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ ललितपुरको समन्वय तथा ललितपुर महानगरपालिका वडा नं. २१ को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

खासगरी पत्रकारहरूले प्राप्त गर्ने सूचनाहरू कुन–कुन प्रकृतिका र कस्ता–कस्ता कार्यालयहरूमा बढी हुन्छन् ? तिनलाई प्राप्त गरेर ती सूचनाहरूलाई आमनागरिकसम्म पु¥याउन कसरी सकिन्छ भन्ने बारेमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद बागचन्दले स्पष्ट पारेका थिए । बागचन्दले पत्रकारहरुले समाचार लेख्दा समाचारको स्रोत आवश्यक हुने र पत्रकारलाई सूचना मौखिक रूपमै पनि प्राप्त हुने हुँदा लिखित रूपमा सूचना माग गर्ने चलन नभएकाले त्यो कुनै अवस्थामा अदालती प्रक्रियामा जाँदा समस्या हुने बताए । 

कुनै कारणबस अदालतमा मुद्दा परेमा समाचारको स्रोत प्रमाणको रूपमा पेश गर्नु पर्ने हुन्छ । त्यस्तो प्रमाणका लागि पनि प्रकारहरूले आफू र आफ्नो समाचारलाई बलियो बनाउनका लागि पनि लिखित रुपमा सूचना माग गर्ने पद्धतीलाई ध्यान दिन बागचन्दले सुझाव दिए ।

ललितपुर महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष रविन्द्र महर्जनले वडामात्र होइन, ललितपुर महानगरपालिका नै सूचनाको हक प्रवद्र्धनमा जिम्मेवार रहेको बताए । उनले भने,‘सूचनाको हकको महत्वलाई बुझेरै बजेट विनियोजन गरिएको हो ।’ साथै, आगामी दिनमा पनि पत्रकार महासङघसँग सहकार्य जारी रहने उनले उल्लेख गरे ।

त्यस्तै महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले हालको संघीय संरचनामा राज्यले सूचनाको हक सम्बन्धी स्पष्ट व्यवस्था गरेको भए पनि सूचना माग गर्न सरोकारवाला निकायहरुमा आम सर्वसाधारणको पहुँच नहुने भएकाले त्यस्तो काम पत्रकारले गर्नु पर्ने सुझाव दिए । प्रत्येक कार्यालयमा एक जना सूचना अधिकारी रहनु पर्ने र ती कार्यालयहरुले प्रत्येक तीन÷ तीन महिनामा सूचनाहरुको अध्यावधि र सार्वजनिक गर्नु पर्ने प्रावधान रहेको सुवेदीले जानकारी गराए ।

अग्रज पत्रकार प्रभुनारायण बस्नेतले कानूनभन्दा माथि कोही पनि नभएको भन्दै जो–कोहीले सूचना मागेमा उपलब्ध गराउनुपर्ने बताए ।

महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले पहिले धेरै धनसम्पत्ति भएको व्यक्ति नै धनी मानिने गरेको उल्लेख गर्दै अहिलेको परिवेश बदलिएको बताए । उनका अनुसार अहिले जससँग सूचना छ, ऊ नै शक्तिशाली हुने अवस्था आएको छ । साथै, महासंघसँग सहकार्य गरेकोमा उनले वडाप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा ललितपुर जिल्लामा क्रियाशील पत्रकारहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो ।

सम्बन्धित खबर