२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

उद्धार चिकित्सा सेवामा दक्ष जनशक्ति उत्पादनमा जोड

himalayanlife
रामहरि कार्की
२०८२ चैत १३ गते २०:११
Shares
उद्धार चिकित्सा सेवामा दक्ष जनशक्ति उत्पादनमा जोड

ललितपुर : नेपाल मेडिसिटी अस्पतालमा उद्धार चिकित्सा सम्बन्धी पाँच दिने अन्तर्राष्ट्रिय बृहत् प्रशिक्षक प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको दाबी गरिएको उक्त तालिम स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।

नेपाल मेडिसिटीका इमर्जेन्सी तथा हाई अल्टिट्युड सर्भिस चिफ डा.सञ्जय कार्कीका अनुसार उद्धार स्वास्थ्य उपचारको सेवा व्यवस्थापन प्राथमिक उपचार केन्द्रबाट सुरु हुने भएकाले अस्पतालको आकस्मिक कक्ष बाहिर आवश्यक दक्ष जनशक्ति विकास गर्न यो कार्यक्रम महत्वपूर्ण रहेको छ । 

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रूपमा तालिम आयोजना गरेको हो । काठमाडौं, पोखरा र वीरगञ्ज लगायतका १२ वटा अस्पतालका चिकित्सकहरू तालिममा सहभागी भएका थिए ।

तालिमका क्रममा सहभागीहरूलाई आपतकालीन अवस्थामा बिरामीको सुरक्षित स्थानान्तरण, दबावपूर्ण परिस्थितिमा काम गर्ने क्षमता तथा अस्पतालपूर्व सेवामा आवश्यक व्यावहारिक सीपहरू प्रदान गरिएको थियो । यसले सहभागीहरूलाई उद्धार चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रियस्तरको अध्ययनका लागि समेत तयार पार्ने विश्वास लिइएको छ ।

सहभागीहरूलाई बेलायतमा सञ्चालन हुने प्रयोगात्मक परीक्षाको ढाँचा, मूल्यांकन प्रक्रिया तथा आवश्यक तयारीका विषयमा पनि जानकारी गराइएको थियो । उद्धार गरिएका बिरामीलाई समयमै प्रभावकारी उपचार प्रदान गर्न आवश्यक सीप अभिवृद्धिमा पनि जोड दिइएको थियो ।

डा.कार्कीका अनुसार बेलायतको रोयल कलेज अफ सर्जनस् अफ एडिनबर्गले ‘डिप्लोमा इन रिट्रिभल एण्ड ट्रान्सफर मेडिसिन’ प्रदान गर्ने गर्दछ । यस तालिमले नेपाली चिकित्सकहरूलाई उक्त परीक्षामा सहभागी हुन सहज बनाउने अपेक्षा गरिएको छ । उनका अनुसार नेपालमा यस्ता विशेषज्ञता हासिल गरेका स्वास्थ्यकर्मीमार्फत सेवा प्रवाह गर्ने उद्देश्य राखिएको छ ।

रिट्रिभल मेडिसिन भनेको गम्भीर अवस्थामा रहेका विरामीलाई एक स्थानबाट अर्को स्थान जस्तैः दुर्घटनास्थालबाट अस्पताल वा सानो अस्पतालबाट ठूलो विशेषज्ञ अस्पतालमा सुरक्षित रूपमा स्थानान्तरण गर्दै जाँदा आवश्यक पर्ने उन्नत आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सा शाखा हो । यसमा विशेषगरी प्रि–हस्पिटल, एम्बुलेन्स सेवा, हेलिकप्टर रेस्क्यु तथा ट्रान्सफरका क्रममा विरामकिो जीवन रक्षा गर्ने सीपमहरू समावेश हुन्छन् ।

तालिममा मोक टेस्टमार्फत अन्तर्राष्ट्रिय परीक्षाको ढाँचा, मूल्यांकन प्रक्रिया तथा व्यावहारिक परीक्षणबारे पनि जानकारी दिइएको थियो, जसले सहभागीहरूलाई परीक्षाको तयारीमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.अमित तोमेरले उद्धार चिकित्साका क्षेत्रमा अस्पतालपूर्व सेवाबारे सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेकोमा जोड दिएका छन् । उनले अस्पतालपूर्व उपचार सेवा तथा हेरचाहका लागि दक्ष जनशक्ति र व्यवस्थित प्रणाली विकास गर्न प्रारम्भदेखि नै ध्यान दिनुपर्ने बताए । साथै जोखिमपूर्ण घटनाबाट आउने बिरामीको उपचारका लागि व्यापक दृष्टिकोण आवश्यक हुने उनको भनाइ छ ।

कार्यक्रममा ग्राण्डी, नर्भिक, ह्याम्स, नेपाल मेडिसिटी, नारायणी र वयोधा अस्पतालका चिकित्सकहरूका साथै पोखरा, लुम्बिनी र वीरगञ्जबाट स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

नेपाल मेडिसिटी अस्पतालले यस्ता तालिममार्फत नेपालमा प्रि–हस्पिटल आपतकालीन सेवाको स्तर उकास्न तथा दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।
कार्यक्रममा सहभागीहरूमध्ये करिब ९० प्रतिशत चिकित्सक रहेका थिए भने बाँकी नर्स  तथा प्यारामेडिक्स रहेका थिए ।

सम्बन्धित खबर