२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

स्तनपानकक्ष नहुँदा मर्का

ADV
मध्यान्ह
२०८१ साउन २० गते १२:४२
स्तनपानकक्ष नहुँदा मर्का

कैलाली : टीकापुरकी वीरमा गुरुङ गत शुक्रबार बुहारीसँग टीकापुरस्थित इलाका प्रशासन कार्यालय गएकी थिइन् । दूधे बच्चा साथमा लिएर गएका उनीहरु प्रशासनमा स्तनपान कक्ष नहुँदा नातिनीले ५ घन्टासम्म दुध खान नपाएको उनले गुनासो गरिन् ।

‘काम विशेषले त्यहाँ गएका त्यहाँ थियौँ, सेवाग्राहीको चाप थियो, बच्चालाई दूध चुसाउने ठाउँ पाइएन’, वीरमाले भनिन्, ‘वरिपरिका खाजा पसलमा पनि भीड थियो, नानीले ५ घण्टासम्म दूध खान पाइन, साह्रै पीडा भयो ।’

टीकापुरकै रिमा थापा चार महिनाको बच्चा लिएर बिहीबार बिहान टीकापुर अस्पतालमा पुगेकी थिइन् । बच्चालाई लाइनमा बसेर उपचार गर्दा घण्टौँ लाग्यो । सयौँ बिरामीको भीड हुने अस्पतालमा स्तनपानकक्ष नभएकाले उनले पनि बच्चालाई सहज रूपमा स्तनपान गराउन सकिनन् । छेउकुना लागेर संकोचपूर्वक मजेत्रोले नानीलाई दूध चुसाएको उनले बताइन् ।

पोषणविज्ञहरूका अनुसार शिशुलाई ६ महिनासम्म निरन्तर दुध खुवाउनुपर्छ । छ महिनापछि पनि पोषिला खानेकुरासँगै दुई वर्षसम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनुपर्छ । स्तनपानबारे नवप्रसूताहरूलाई सिकाउने गरेको टीकापुर–८ का महिला स्वास्थ्य स्वयंसेविका मीना टमटा बताउँछिन् ।

सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको सुनाउँछन् । स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ । कार्यालय, संघसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उनको जोड छ ।

टीकापुर नगरपालिका कार्यालय र विजयनगर सहरी स्वास्थ्य केन्द्र गरी दुई ठाउँमा स्तनपानकक्ष निर्माण छन् । यी स्तनपानकक्ष पनि फाट्टफुट्टमात्र प्रयोग हुने गरेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउँछन् । ‘स्वास्थ्य संस्थामात्र होइन, सेवाग्राही आउने हरेक कार्यालयमा स्तनपानकक्ष आवश्यक छ’, उनले भने ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले पुराना भवनमा स्तनपानकक्ष नभए पनि अब बन्ने भवनमा स्तनपानकक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise