
काठमाडौं : नेपालमा सार्वजनिक सेवामा बिचौलियाको सञ्जाल पुरानै समस्या हो । तर पछिल्ला केही दिनमा काठमाडौं उपत्यकाका विभिन्न सरकारी कार्यालयबाट बिचौलिया पक्राउ पर्ने क्रम बढेको छ ।
एकातिर, बिचौलिया पक्राउ गर्ने र अर्कोतिर बिचौलियालाई सरकारी कार्यालयमा निषेध गर्ने नीति सरकारले लिएको छ । बुधबार मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका नापी कार्यालय तथा मालपोत कार्यालयहरूलाई पत्र पठाएर कार्यालय परिसरभित्र परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश दिन भनेको छ । सो गर्नुको कारण हो– मालपोत र नापी कार्यलयहरूमा बिचौलियालाई निषेध गर्नु । योसँगै नापी कार्यालय तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई सहज हुने सरकारको अपेक्षा छ ।
सरकारी कार्यालयका गोप्य र संवेदनशील कागजातमा बिचौलिया तथा अनाधिकृत व्यक्तिहरूको अनियन्त्रित पहुँच यातायात कार्यालयहरूमा पनि रहेको पाइन्छ । यसलाई ख्याल गरेर प्रहरीले पछिल्ला केही दिनमा यातायात कार्यालयमा रहेका बिचौलियालाई पक्राउ गर्न अप्रेसन नै चलाएको छ ।
मंगलबार मात्रै काठमाडौंका विभिन्न यातायात कार्यालय परिसरबाट १६ जना बिचौलिया पक्राउ परे ।
सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सेवा प्रवाहमा बाधा विरोध गरेको र सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
सानोभर्याङस्थित यातायात कार्यालयबाट आठजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा रौतहटका बलबहादुर सुनार, रामेछापका विज्ञान राई र रमेश कार्की, काठमाडौंकै सञ्जय राजवाहक र विमल तामाङ, कैलालीका सुमनप्रसाद श्रेष्ठ, नुवाकोटका उद्धव खनाल र धादिङकी कल्पना लम्साल रहेका छन् ।
प्रहरीवृत्त थानकोटले गुर्जुधारास्थित यातायात कार्यालयबाट पनि आठैजनालाई पक्राउ गरेको छ । काठमाडौंका पासाङ तामाङ र सुदीप मगर, काभ्रेका सुनील लामा, धादिङका बुद्ध तामाङ र अमन तामाङ, मकवानपुरका सुमेश नेपाली, बझाङका उज्ज्वल सिंह र मोरङका दिलीप राई पक्राउ परेका हुन् ।
ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट पनि १५ जना बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरीवृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
फास्ट ट्रयाकमा काम गरिदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने गुनासो बढेपछि प्रहरीले विशेष अप्रेसन चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्न थालेपछि बिचौलियाहरू सरकारी कार्यालय आसपास जान छाडेका छन् । बुधबार धादिङका एक युवक एकान्तकुनास्थित यातायात कार्यालयमै पुगेका थिए । विदेश जाने हतारोमा रहेका उनी छिटोभन्दा छिटो ड्राइभिङ लाइसेन्स निकाल्न खोजिरहेका छन् । नेपालको लाइसेन्स हुँदा सम्बन्धित देशको लाइसेन्स लिनका लागि सहज हुन्छ ।
‘छिटो लाइसेन्स पाउनका लागि बिचौलिया खोजेको त्यहाँ रहेकाले उल्टै झपारे’ ती युवकले सुनाए । अर्थात्, प्रहरीले पक्राउ पर्न थालेपछि बिचौलियाको भागाभाग भएको छ । नयाँ सरकारले सत्ता सम्हालेपछि बिचौलियालाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको हो ।
मध्यपुरथिमि–५ राधेराधेस्थित यातायात कार्यालयबाट प्रहरीको टोलीले दुईजना बिचौलिया पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरू फाराम भर्ने, प्रक्रिया सजिलो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुल्ने काममा संलग्न थिए ।
सानो भर्याङस्थित यातायात कार्यालयबाट पक्राउ परेका बिचौलियाबाट प्रहरीले ५३ थान बिलबुक र करिब १ लाख २२ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार अन्यत्रबाट समेत बिचौलियाबाट पैसा, बिलबुक, दस्ताबेज र अन्य फर्जी कागजात बरामद भएका छन् । नयाँ सरकारले सत्ता सम्हालेपछि सार्वजनिक सेवामा पारदर्शिताका लागि नीतिगत सुधार र व्यावहारिक समस्या समाधान गर्ने बताउँदै आएको छ । यसअन्तर्गत सरकारी कार्यालयहरूमा रहेका बिचौलियाविरुद्धको कारबाही तीव्र भएको हो ।