
सर्लाही : माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत सर्लाहीको एक परीक्षा केन्द्रबाट मोबाइल फोन प्रयोग गरी चिट चोरी गरेको आरोपमा तीन जना परीक्षार्थी पक्राउ परेका छन् ।
गोडैता नगरपालिका–५ रामवनस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको परीक्षा केन्द्रभित्रै मोबाइल प्रयोग गर्दै चिट चोरी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बलरा नगरपालिका–८ गडहीया डुमरियास्थित जनता नमूना माध्यमिक विद्यालयका दुई छात्र तथा गोडैता नगरपालिका–१० सिसौटियास्थित नारायणहरि माध्यमिक विद्यालयका एक छात्र रहेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर बाहिर रहेका व्यक्तिहरूलाई पठाउने र उत्तर मगाउने उद्देश्यले ह्वाट्सएप समूह नै बनाएको खुलासा भएको छ ।
परीक्षा केन्द्रमा जडान गरिएको सिसिटिभी क्यामेराबाट निगरानीका क्रममा शंकास्पद गतिविधि देखिएपछि खानतलासी गर्दा उनीहरूको साथबाट मोबाइल फोन बरामद गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका सूचना अधिकारी सुनिलकुमार कुशवाहाले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखिएको छ । परीक्षा मर्यादाविपरीत गतिविधिमा संलग्न रहेको ठहर गर्दै उनीहरूको दोस्रो दिनको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको पनि इकाइले जनाएको छ ।