
बारा : बाराको बारागढी गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०८२/८३ का लागि संशोधनसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासका योजना सार्वजनिक गरेको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष अशोक जयसवाल, लक्ष्मीदेवी राय, प्रमुख प्रशासकीय अधिकृत मुकेश मिश्र, वडाध्यक्षहरू कार्यपालिका सदस्य, र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
सभामा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी र युवा स्वरोजगारलाई प्राथमिकता दिइएको गाउँ पालिका अध्यक्ष जयसवालले जानकारी दिए ।
उनले बारागढी लाई समृद्ध पालिकाको रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्धता अनुरूप योजनाहरू तर्जुमा गरिएको बताए ।
अध्यक्ष जयसवालले पालिकावासीसँगको सहकार्य र सहभागिताको माध्यमबाट विकासका कार्यलाई तीव्रता दिने बताएका छन् ।
सभाले जलवायु परिवर्तन र वातावरण संरक्षणलाई ध्यानमा राखी हरियाली प्रवर्धनका कार्यक्रमहरू लागू गर्ने निर्णय गरेको छ ।
गाउँसभामा विगतका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै कार्यान्वयनमा भएका चुनौतीहरूको समाधान गर्न नयाँ रणनीतिहरू अघि सारिएको बताउँदै पालिकाले आगामी वर्षमा विकास र सेवामा अझ प्रभावकारी हुने योजना तयार पारिएको जनाए ।
सभाले बारागढीको प्रमुख समस्याहरू समाधान गर्न ठोस योजना लागू गर्न निर्णय गर्दै गाउँ पालिकावासीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरूमा बारागढी गाउँपालिकाले प्राथमिकता दिने हिउँदे नगर अधिवेशनमा पारित गरिएको छ ।