
काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध चयन भएकी छन् । सिंहदरबारमा सम्पन्न समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा उक्त जिम्मेवारी प्रदान गरेको हो ।
बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्य गोपालकुमार बस्नेत ले गरेका थिए । उनले सभापति पदका लागि प्रस्तुत एक मात्र प्रस्तावलाई बैठकले अनुमोदन गरेको जानकारी दिएका छन् ।
सभापतिमा चयन भएपछि चौधरीले संविधानको दायराभित्र रही कानुन निर्माण प्रक्रियामा आवश्यक अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिँदै निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, उनले सबै पक्षसँग समन्वय र सहकार्य गर्दै समितिको कार्य अघि बढाउने धारणा राखिन् ।
समितिको बैठकले नव-निर्वाचित सदस्यहरूलाई स्वागतसमेत गरेको छ ।