
ललितपुर : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरमा प्रत्येक बुधबार बिहान ८ बजेदेखि ‘पथ्य आहार कार्यक्रम’ सञ्चालन हुँदै आएको छ ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको पहलमा सञ्चालन गरिएको पथ्य आहार कार्यक्रममार्फत जनतालाई ऋतु अनुसारको आहार–विहारबारे जानकारी दिइँदै आएको छ ।
आयुर्वेद अनुसार ‘पथ्य’ भन्नाले शरीर र मन दुवैका लागि हितकर कुरा बुझिन्छ । पथ्य आहारले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै स्वस्थ रहन सहयोग पुर्याउँछ । साथै, यस्ता आहारहरू व्यक्तिको मानसिक सन्तुलन र सन्तुष्टिका लागि पनि उपयुक्त मानिन्छन् ।
कार्यक्रममा आयुर्वेदमा वर्णित ऋतु अनुसारको आहार–विहारबारे जानकारी गराइन्छ । जाडो मौसम अर्थात् हेमन्त र शिशिर ऋतुमा पाचन शक्ति बलियो हुने भएकाले माछा, मासु, घिउ, तिल, माष तथा गुड (सख्खर) जस्ता पौष्टिक खाद्यपदार्थको सेवन उपयुक्त मानिन्छ । त्यस्तै, बसन्त र ग्रिष्म ऋतुमा पाचन शक्ति कमजोर हुँदै जाने भएकाले जौ, मही, मुंगको दाल तथा सर्बतजस्ता सजिलै पच्ने खानेकुरा सेवन गर्न सुझाइन्छ । कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई ऋतु अनुसारका विभिन्न परिकारहरूको नमुना तयार गरी खुवाउने तथा बनाउने विधि सिकाइने आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका कार्यालय प्रमुख डा.पुनम नेपालले जानकारी दिइन् । उनका अनुसार हालसम्म २४ वटा कार्यक्रम सञ्चालन भइसकेका छन् ।
कार्यक्रममा समावेश गरिएका परिकारहरूमा मकैको च्याख्ला, मखानाको खिर, चामलको खिर, करेलाको अचार, काञ्जी, चाकु, तिलको लड्डु, भूजाको लड्डुु, उसिनेको तरुल र सखरखण्ड, चंम्सुरको खिर, अमला मुरब्बा, सर्बत, मही, खरबुजा र मेवा, चनाको तरकारी, टुसा उमारेको मुंग र चना, मास दाल खिचडी, मुंग दाल खिचडी, मुंग दालको सूप तथा फापरको सूप लगायतका परिकार समावेश छन् ।
चालु आव २०८२/८३ मा हालसम्म ९ सय ३५ जना सेवाग्राहीले यस कार्यक्रमबाट लाभ लिइसकेको अस्पतालकी डा. नेपालले जानकारी दिइन् । कार्यक्रमले स्वस्थ जीवनशैली प्रवर्धन गर्दै समुदायमा आयुर्वेदिक आहारप्रतिको रुचि बढाउँदै लैजाने अपेक्षा गरिएको छ ।