
काठमाडौं : क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण उत्पादनमा विश्वव्यापी रूपमा परिचित टौरियन एमपिएस लिमिटेडले आरबिजी इन्टरनेसनल प्रा.लि.लाई नेपालका लागि आफ्नो आधिकारिक डिलर नियुक्त गरेको छ । दक्षिण एसियामा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने रणनीतिअन्तर्गत कम्पनीले यो निर्णय गरेको हो ।
काठमाडौंमा आयोजित एक औपचारिक समारोहबीच उक्त साझेदारी घोषणा गरिएको हो । कार्यक्रममा टौरियनका ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन र अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पठानिया सहभागी थिए । यस्तै, आरबिजी इन्टरनेसनलका अध्यक्ष बलराम उपाध्याय, निर्देशक रवि रञ्जन कुमार र श्यामल झा पनि उपस्थित थिए ।
सन् २००५ मा स्थापना भएको टौरियन एमपिएसले इन्जिनियरिङ उत्कृष्टता, भरपर्दो सञ्चालन र ग्राहककेन्द्रित समाधानमार्फत अन्तर्राष्ट्रिय बजारमा बलियो पहिचान बनाएको छ । कम्पनीको उपस्थिति उत्तर अमेरिका, रसिया तथा मध्यपूर्वलगायतका क्षेत्रमा विस्तार हुँदै आएको छ । नेपालमा डिलर नियुक्ति उच्च सम्भावना भएका बजारमा आफ्नो पहुँच विस्तार गर्ने दीर्घकालीन योजनाको हिस्सा रहेको कम्पनीले जनाएको छ ।
सन् २०१९ मा स्थापना भएको आरबिजी इन्टरनेसनलले नेपालमा एडमिक्स्चर केमिकल, निर्माण उपकरण, आरएमसी एसेसरिज तथा वाटरप्रुफिङ समाधान क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । प्राविधिक दक्षता र परियोजना–केन्द्रित कार्यशैलीमार्फत कम्पनीले बजारमा विश्वास कायम गर्दै आएको छ ।
नयाँ साझेदारीसँगै आरबिजी इन्टरनेसनल अब क्रसर प्लान्ट क्षेत्रमा प्रवेश गर्ने भएको छ । कम्पनीले गुणस्तरीय उपकरण आपूर्तिसँगै प्रभावकारी बिक्रीपछिको सेवा प्रणाली विकास गर्दै छिटो सेवा, न्यून डाउनटाइम र दीर्घकालीन सञ्चालन सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ ।
नेपालमा जलविद्युत तथा पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेका कारण उच्च क्षमताका क्रसर प्लान्ट र मटेरियल प्रोसेसिङ उपकरणको माग बढ्दो छ । यस्तो अवस्थामा यो साझेदारीले अत्याधुनिक क्रसिङ तथा स्क्रिनिङ समाधानको पहुँच विस्तार गर्ने र औद्योगिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
दुवै कम्पनीले दीर्घकालीन सहकार्यमार्फत भरपर्दो उपकरण, प्रभावकारी सेवा र दिगो बजार विस्तारमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।