
काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
मन्त्रालय स्रोतका अनुसार भेटका क्रममा दुई देशबीचको पुरानो कूटनीतिक सम्बन्ध, विकास सहकार्यका क्षेत्र, नेपालमा जारी शान्ति प्रक्रिया तथा न्यायमा सर्वसाधारणको पहुँच विस्तार गर्ने विषयमा आपसी धारणा आदानप्रदान भएको थियो ।
दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका सम्भावित क्षेत्र विस्तार गर्ने विषयमा सकारात्मक छलफल गरेको जनाइएको छ ।