२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

चिनी उद्योग र डिस्टिलरीबाट निस्कने दुर्गन्धले स्थानीय हैरान

Nada
घनश्याम बलम्पाकी
२०८२ चैत २५ गते २०:३६
Shares
चिनी उद्योग र डिस्टिलरीबाट निस्कने दुर्गन्धले स्थानीय हैरान

सर्लाही : सर्लाहीको हरिवनस्थित सञ्चालनमा रहेको इन्दु शंकर चिनी उद्योग र सँगै रहेको अमरावती मद्यशाला (डिस्टिलरी)बाट निस्कने दुर्गन्धका कारण स्थानीय बासिन्दा हैरान भएका छन् । 
उद्योगबाट निस्कने फोहोर र गन्धका कारण आसपासका बस्तीमा झिँगाको अत्यधिक वृद्धि भएपछि स्थानीय हैरान भएका हुन् ।  

ncell

विशेषगरी उद्योग आसपासका घरधुरीमा बसोबास गर्नेहरू दैनिक जीवनमै प्रभावित भएका छन् । खाना खान, बस्न तथा सुत्नसमेत समस्या भइरहेको स्थानीयले बताएका छन् । झिँगाका कारण सरसफाइमा समस्या हुनुका साथै विभिन्न रोगको जोखिम समेत बढेको उनीहरूको भनाइ छ ।

स्थानीयवासीहरूले सम्बन्धित उद्योग र सरोकारवाला निकायलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको आरोप समेत लगाएका छन् । 

उनीहरूले उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्न र दुर्गन्ध नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गरेका छन् ।

चिनी मिल र डिस्टिलरीबाट निस्कने प्रदुषण तथा मल उत्पादनका क्रममा आउने दुर्गन्ध र अत्यधिक झिँगाबाट हरिवन नगरपालिका ८ र ११ का बासिन्दा निकै पीडित भएको गुनासो गरेका छन् । 

स्थानीयले प्रदुषण र झिँगाको आतंक रोक्न माग गर्दै हरिवन नगरपालिका कार्यालय र चिनी मिललाई ज्ञापन पत्र नै बुझाएका छन् ।

हरिवन नगरपालिका ८ की सुमित्रा दाहालले अत्यधिक झिँगा लाग्दा हरिवन ८ स्थित नारायणचोकलगायत मिल वरपर बसोवास गर्ने वासिन्दा अत्यधिक पीडित बनेको गुनासो गरिन् । 

हरिवन नगरपालिका कार्यालयलाई स्थानीयले बुझाएको ज्ञापन पत्रमा स्वच्छ रुपले बाँच्न पाउने अधिकार हनन् नगर्न आग्रहसमेत गरेका छन् । यदि झिँगासहित दुर्गन्ध र प्रदुषण नियन्त्रण नै नगर्ने हो भने उद्योग नै बन्द गर्न समेत चेतावनी दिएका छन् । पीडित पक्षले बुधबार अपरान्ह करिब एक घण्टा उखुक्रसिङ बन्द गरेका थिए । 

यता उद्योग पक्षले भने फोहोर व्यवस्थापनका लागि प्रयास भइरहेको बताएका छन् । उद्योग प्रशासनका अनुसार आगामी सोमबार पीडित पक्ष र उद्योग पक्ष बसेर समस्या समाधान गर्ने सहमती भएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर