
काठमाडौं : सरकारले स्विस बैंकमा रहेको नेपालीहरूको खाता विवरण र रकमबारे अनुसन्धान गर्नका लागि स्विस सरकारसँग सहयोग मागेको छ । बुधबार गृहमन्त्री सुधन गुरुङले नेपालस्थित स्विट्जरल्यान्डकी राजदूतसँगको भेटमा अनुसन्धानका लागि सहयोग मागेका हुन् । मन्त्री गुरुङले गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्विस बैंकमा राखे÷नराखेको विषयमा जानकारी दिन आग्रह गरेका हुन् ।
नेपालस्थित स्विस दूतावासले पनि गृहमन्त्री गुरुङसँग शिष्टाचार भेट भएको उल्लेख गरेको छ । दूतावासले आफ्नो सामाजिक सञ्जालमा राजदूत डानियल मेउलीले बुधबार गृहमन्त्री गुरुङसँग शिष्टाचार भेटवार्ता गरेको उल्लेख गरेको हो । दूतावासका अनुसार उक्त भेटमा स्विट्जरल्यान्ड र नेपालको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाउने विषयमा केन्द्रित थियो । त्यसक्रममा विकास सहयोग, विपद् व्यवस्थापन तथा सुशासनका विषयमा पनि छलफल भएको दूतावासले उल्लेख गरेको छ ।
सरकारले पछिल्लो समय नेपालमा सम्पत्ति शुद्धीकरणको मुद्दालाई तीव्रताका साथ अघि बढाइरहेको छ । सरकारले हाल पूर्वप्रधानमन्त्री, मन्त्री तथा विभिन्न व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढाइरहेको छ । यसै क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि समेत सम्पत्ति शुद्धीकरणको अनुसन्धान भइरहेको जनाएको छ । यस्तै, पूर्वऊर्जामन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट तथा सुलभ अग्रवाल प्रहरी नियन्त्रणमा छन् । अहिलेको सरकारले २०४६ सालपछि सत्तामा रहेका नेता तथा अन्य विभिन्न ११ हजारभन्दा बढी व्यक्तिको सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्ने बताएको छ ।