२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विपद् तयारी सुदृढ गर्न ललितपुरमा ड्रिल अभ्यास

Nada
रामहरि कार्की
२०८२ चैत २६ गते २१:३५
Shares
विपद् तयारी सुदृढ गर्न ललितपुरमा ड्रिल अभ्यास

ललितपुर : ललितपुर बज्रबाराही चापागाउँ अस्पतालमा आपतकालीन अवस्थामा प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले आपतकालीन व्यवस्थापन ड्रिल अभ्यास सम्पन्न भएको छ ।  

ncell

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई लक्षित गरी गरिएको उक्त अभ्यासमा सम्भावित प्रकोपको समयमा उपचार प्रक्रिया, स्वास्थ्यकर्मीको भूमिका तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यप्रणाली अभ्यास गरिएको थियो । ललितपुर–२४ धापाखेलमा पहिरो गएको कृत्रिम घटना तयार गरी घाइतेको उद्धार, उपचार तथा अस्पतालभित्रको व्यवस्थापन अभ्यास गरिएको हो । 

ड्रिलका क्रममा बिरामीको अवस्थाअनुसार छुट्टाछुट्टै जोनमा राखी उपचार प्रक्रिया सञ्चालन गरिएको थियो। करिब तीन घण्टा चलेको अभ्यासले विपद् व्यवस्थापनमा अस्पतालको तयारी र सेवा प्रवाहबारे महत्वपूर्ण अनुभव प्रदान गरेको सहभागीहरूले बताएका छन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मण खड्काले यस्ता अभ्यासले आपतकालीन अवस्थामा नआत्तिकन प्रभावकारी सेवा दिन सहयोग पुग्ने बताए । उनले सुधार गर्नुपर्ने पक्षहरूलाई क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै, अस्पतालका फोकल पर्सन डा. अमरदीप साहले अभ्यासले सम्भावित विपद्का चुनौती र व्यवस्थापन प्रक्रियाबारे चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यावहारिक ज्ञान प्रदान गरेको बताए ।

पाटन अस्पतालकी डा. कृपा महर्जनले विपद् व्यवस्थापनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी दुवैको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता अभ्यासले नियमित सेवामा केही असर देखिए पनि सुधार आवश्यक रहेको सुझाव दिइन् । 

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीराज कार्कीले अभ्यास प्रभावकारी रहेको भन्दै समय–समयमा यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी ललितपुरकी कञ्चन बस्नेतले विपद्को समयमा रेडक्रसले निरन्तर मानवीय सेवामा योगदान दिँदै आएको उल्लेख गरिन् । 

अस्पतालका अध्यक्ष रामहरि घिमिरेले विपद् व्यवस्थापनमा सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय अपरिहार्य हुने बताउँदै सामूहिक प्रयासले मात्र प्रभावकारी सेवा सम्भव हुने धारणा व्यक्त गरे । 

ड्रिल अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी लगायतको अवलोकन रहेको थियो । 

सम्बन्धित खबर