२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

Nada
२०८२ चैत २७ गते १४:२०
Shares
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिएका छन् ।

ncell

नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले आर्थिक समृद्धिको मूल आधार व्यापार–व्यवसाय, उद्योगधन्दाको प्रवद्र्धनमा सरकार–निजी क्षेत्र साझेदारी हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपतिले आर्थिक समुद्धिबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहज हुने भएकाले जनताले चाहेको विकास र समृद्धिका निम्ति एकताबद्ध भएर अघि बढ्न सम्बद्ध सबैलाई आह्वान गरे । राष्ट्रपति पौडेलले भने, ‘मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट स्थापित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन मार्गप्रशस्त भएको छ । झन्झटरहित सेवा प्रवाह, जनताको जीवनस्तर उकास्ने आर्थिक विकासका योजना कार्यान्वयनलगायत राष्ट्रनिर्माणको गहन दायित्व भएको वर्तमान सरकारले निजी क्षेत्रको साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जनअपेक्षा छ ।’ 

राजनीतिक स्थायित्व आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना हुने भएकाले स्वदेशमा नै कामको अवसर उपलब्ध गराउनु अहिलेको आवश्यकता हो भने । साथै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा लिनुपर्ने बताए । 

मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले सराहना गरे । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्र र सरकारबीच समन्वय नहुँदा अपेक्षाकृत अर्थतन्त्रको विकास हुन नसकेको बताउँदै सुधारका धेरै क्षेत्र छन् भने । उनले देशको अर्थतन्त्र उकास्न सरकारसँग निरन्तर सहयोग एवं समन्वय गर्दै आएको बताए । सरकार तथा निजी क्षेत्रबीच चेम्बरले सेतुको भूमिका निर्वाह गरिरहेको उनको कथन थियो । 
 

uae

सम्बन्धित खबर