२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

धर्मसंकटमा उपेन्द्र

ADV
मध्यान्ह
२०८१ साउन २१ गते ०७:००
धर्मसंकटमा उपेन्द्र

काठमाडौं : मधेश आन्दोनलनबाट नेपाली राजनीतिमा उचाइ प्रप्त गरेका नेता हुन – उपेन्द्र यादव । २०६२/०६३ को जनआन्दोलनपछि मधेशबाट निरन्तर केन्द्रीय राजनीतिमा प्रभाव कायम राख्दै आएका यादव पछिल्लो समय कमजोर देखिन पुगेका छन् । 

मधेश प्रदेशमै यादव नेतृत्वको पार्टीको विकल्पमा अन्य दलहरू उदाउनु, संघीय राजनीतिमा उनको विकल्पमा शक्तिहरु देखा पर्नु, आफू नेतृत्वको पार्टीलाई विभाजनबाट रोक्न नसक्नु लगायतका कारण यादव पछिल्लो समय चाहेर पनि सरकारमा जान सकिरहेका छैनन् । प्रतिपक्षी मोर्चामै रहन पनि उनलाई हाल प्रतिपक्षमा रहेको दलहरूको सरकारलाई अप्ठ्यारोमा साथ नदिएकाले सहज महसुस भइरहेको छैन ।

पार्टी फुटाउन भूमिका खेलेको भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टाढिएका थिए । माओवादी केन्द्र सहितको समाजवादी मोर्चाले बैठकमा बोलाउँदा समेत उनी गइरहेका छैनन् । 

अर्कोतर्फ नयाँ सरकारसँग यादव झन रुष्ट भएका छन् । कारण– प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारमा अशोक राई पक्षीय जसपालाई समेटे भने मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमतलाई साथ दिए । 

संसदका दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गर्दै गर्दा सबैभन्दा पहिले उत्साहित भएर उपेन्द्रले स्वागत गरेका थिए । दुई दलबिचको सहकार्यले राजनीतिक स्थिरता दिने अपेक्षा व्यक्त गरेका थिए । 

‘राष्ट्रिय सहमतिको सरकार बनाउने गरी दुई दलबिच भएको सहमति निकै सकारात्मक छ, यसले राजनीतिक स्थिरताको सन्देश दिएको छ’ कांग्रेस–एमाले गठबन्धनप्रति समर्थन जनाउँदै जसपा नेपालका नेता मनिष सुमनले विज्ञप्ती निकालेर भनेका थिए, ‘नयाँ बन्ने सरकारलाई हाम्रो समर्थन रहन्छ ।’ 

जसपा विभाजनपछि माओवादी केन्द्र नेतृत्वको अघिल्लो सरकारलाई दिएको समर्थन फिर्ता लिएर यादव पक्षीय जसपाले यसरी कांग्रेस–एमाले गठबन्धन सरकारलाई समर्थन जनाउने घोषणा नै गरेको थियो । संसदमा पनि सत्ता पक्षको बेन्चमा आफूलाई उभ्याएको थियो । यसो गर्दा केन्द्र सरकार र मधेस सरकारमा सहभागिताको आश राखेका यादव कुनै पनि हात नलागेपछि निराश भएका हुन् ।

उपेन्द्र यादवको अपेक्षा विपरीत प्रधानमन्त्री ओलीले पूर्ण बेवास्ता गरिदिए । केन्द्रमा यादव पक्षको विकल्पमा अशोक राई नेतृत्वको जसपा सरकारमा गयो । अहिले ओली नेतृत्वको केन्द्र सरकारमा राई नेतृत्वको जसपाका दुई मन्त्री छन् । प्रदीप यादवले खानेपानीमन्त्रीको जिम्मेवारी पाएका छन् भने नवलकिशोर साह सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन् ।

ओलीले सानो दल भए पनि राई नेतृत्वको जसपालाई निकै प्राथमिकताका साथ सरकारमा भूमिका दिएका छन् । सरकारमा साना दलको तर्फबाट फूल मन्त्री पाउने दल राई नेतृत्वको जसपामात्रै छ । 

प्रधानमन्त्री ओलीले पछिल्लो पटक साउन १८ मा केन्द्र सरकारलाई पूर्णता दिएका थिए । जसमा उनले जसपा नेपाललाई कुनै वास्ता गरेनन् । जहाँ नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने राज्यमन्त्री लिँदै समावेश भएको छ ।

यता, मधेस सरकारमा पनि यादव नेतृत्वको जसपाले भूमिका पाएन ।

वर्तमान सत्ता समीकरणमा कतै पनि भूमिका नपाएपछि यादव पछिल्लो समय यता न यताका जस्तो न सत्तापक्ष न प्रतिपक्षको जस्तो हुन पुगेका हुन् । सुरुमा उत्साहित भएर कांग्रेस–एमाले गठबन्धनको स्वागत गरेका यादव अहिले गठबन्धनलाई पछिल्लो ‘परिवर्तन विरोधी’ भन्ने अभिव्यक्ति दिइरहेका छन् । 

यही साउन साउन १९ गते काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस–एमाले गठबन्धन परिवर्तन मास्न लागेको आरोप लगाए । उनले कांग्रेस र एमाले गठबन्धन २०४७ को संविधान ल्याउने प्रयासमा रहेको आरोप लगाए ।

उनको प्रश्न छ, ‘नेपाली कांग्रेसले, त्यही केपी शर्मा ओलीलाई काँधमा बोकेर, सहकार्य केका लागि गर्न लाएको ?’ संविधान विरोधी गठबन्धन बनेको भन्दै उनले थपेका छन्,  ‘समावेशितालाई अन्त्य गर्ने, प्रतिनिधि र प्रदेशसभाबाट समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने, यसलाई खारेज गरेपछि के हुन्छ बाँकी ? पञ्चायतकालको जस्तो, राजाको जस्तो एउटै जाति, एउटै भाषा र एउटै भेषको जातिवादी वा स्वच्छेचारी राज्यको स्थापना गर्ने हो ?’ 

थ्रेसहोल्ड बढाएर साना दललाई सिध्याउन खोजेको आरोप वर्तमान सरकारमाथि उनको छ । दुई दल लोकतन्त्र नै मास्ने प्रयास हुन लागेको उनको टिप्पणी छ । 

उनले भनेका छन्, ‘नेपालको आन्दोलनको अहिलेसम्मकै उपलब्धि भनेको समावेशिता हो, आज सबैभन्दा बढी प्रहार राज्यका तर्फबाट सरकारमै रहेका दलहरूको तर्फबाट समावेशिकतामाथि समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको छ ।’ 

अर्थात, कांग्रेस र एमाले नेतृत्वको गठबन्धनमा स्थान नपाएपछि उपेन्द्र प्रतिपक्षीको बेच्नमा रहेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी लगायतका दलसँग नजिकिन खोजेका छन् ।  

माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका दलहरूले संसद् र सडकमा साझा एजेन्डा बनाउने सहमति गरेका छन् । यो एजेण्डामा यदाव नजिकिन खोजेको नेताहरू बताउँछन् । 

यादवले यसअघि नै समाजवादी मोर्चाबाट आफूलाई अलग भएको घोषणा गरिसकेका छन् । यसकारण उनलाई यो मोर्चामा फेरि सामेल हुन समेत अप्ठ्यारो परिरहेको छ । तर, रियलाइजेशन गरेर उपेन्द्र यादव मोर्चामा सहभागी हुन सक्ने मोर्चामा आवद्ध दलका नेताहरू बताउँछन् ।

पुष्पलालको जन्म शताब्दीको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले साउन १२ मा आयोजना गरेको एक कार्यक्रममा प्रचण्ड र यादवले मञ्च समेत सेयर गरेका थिए । उक्त कार्यक्रममा यादवले प्रचण्डतर्फ लक्षित गर्दै सत्ताका लागि जे पनि गर्न तयार हुने भन्दै कटाक्ष गरेका थिए । कटाक्षका साथसाथै यादवले प्रचण्डको नेतृत्वमा मुलुकमा परिवर्तन आएको भनेर प्रशंसा समेत गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise