
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर सञ्चालित विमानस्थलहरूमा यात्रु सेवाको गुणस्तर अभिवृद्धि गर्न तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ ।
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै विमानस्थलमा सेवा, सरसफाइ तथा मानवमैत्री पूर्वाधारको स्तर उकास्न २४ घण्टाभित्र आवश्यक काम कार्यान्वयन गर्न भनेको हो ।
यात्रुहरूबाट प्राप्त गुनासा र सुझावलाई आधार मान्दै तत्काल सुधार अपरिहार्य देखिएको मन्त्रालयको निष्कर्ष छ । निर्देशनअनुसार स्तनपान तथा शिशु हेरचाहका लागि छुट्टै कक्षहरूलाई स्वच्छ, सुरक्षित र गोपनीयता सुनिश्चित हुने गरी सञ्चालन वा स्तरोन्नति गर्नुपर्नेछ । साथै, बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त यात्रुका लागि प्राथमिक सेवा कक्षको व्यवस्था गर्न पनि भनिएको छ ।
महिला यात्रुको आवश्यकतालाई मध्यनजर गर्दै प्रमुख शौचालयहरूमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । सरसफाइ व्यवस्थापनतर्फ दैनिक लगबुक प्रणाली लागू गर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वच्छता कायम राख्ने तथा नियमित अनुगमन र अभिलेखीकरण सुनिश्चित गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
उक्त सुधार कार्यहरूको प्रगति विवरण, फोटोसहितका प्रमाण र सरसफाइ लगबुक २४ घण्टाभित्र मन्त्रालयमा इमेलमार्फत पेश गर्न भनिएको छ । निर्देशन कार्यान्वयनमा ढिलाइ वा बेवास्ता भए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
यसैबीच, सेवा सुधारको अवस्थाबारे नागरिक तथा यात्रुहरूले ‘गुनासो वा तारिफ’ सम्बन्धी प्रतिक्रिया मन्त्रालयका सूचना अधिकारीको ह्वाट्सएप नम्बरमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।