२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

पेट्रोलियम पदार्थको भाउ : अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा वृद्धि, भारतमा भन्दा ६५ रुपैयाँ महँगो

Nada
विष्णु पोखरेल
२०८२ चैत २८ गते ०६:३५
Shares
पेट्रोलियम पदार्थको भाउ : अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा वृद्धि, भारतमा भन्दा ६५ रुपैयाँ महँगो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा तीव्र गिरावट आइरहेका बेला नेपाल आयल निगमले बिहीबार मध्यराति अप्रत्याशित ढंगले इन्धनको मूल्य बढाइदियो । सामान्यतया हरेक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्ने निगमले अप्रत्याशित रूपमा मध्यरातमा मूल्य समायोजन गर्‍यो । 

ncell

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटिरहेको र सरकारले पनि भन्सार करमा ५० प्रतिशत छुट दिइरहेका बेला एकाएक ठुलो मात्रामा मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् ।  

एक महिनामै ४६ प्रतिशत मूल्यवृद्धि 

निगमले बिहीबार मध्यराति गरेको मूल्यवृद्धि नेपालमा ‘रेकर्ड ब्रेक’ महँगो हो । पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल÷मट्टीतेलमा २५ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर सय रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ मूल्यवृद्धि भएको छ ।   योसँगै पेट्रोलको मूल्य प्रतिलिटर २ सय १९, डिजेल २ सय ७, खाना पकाउने एलपी ग्यास २ हजार १० पुगेको छ । यसरी मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा ७ अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ । 

यसअघि निगमले चैत १९ र चैत १२ मा पेट्रोल, डिजेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य समायोजन गरेको थियो भने चैत २ मा पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढाएको थियो । हवाई इन्धनमा त परल मूल्यभन्दा बढी नै मूल्य बढाइसकेको छ । यसरी हेर्दा निगमले एक महिनाको अवधिमा पेट्रोलमा ६२ रुपैयाँ र डिजेलमा ६५ रुपैयाँ बढाएको छ । एक महिनाको अवधिमै पेट्रोलको मूल्य १५७ बाट बढेर २१९ रुपैयाँ अर्थात् ४० प्रतिशत र डिजेल १४२ रुपैयाँबाट बढेर २०७ रुपैयाँ अर्थात् ४६ प्रतिशत मूल्य बढेको देखिन्छ । यसरी एक महिनामै ४० देखि ४६ प्रतिशतसम्म मूल्यवृद्धि हुँदा बजारमा छोइनसक्नु महँगी बढेको छ । सामान्य हिसाब गर्दा पनि १० प्रतिशत इन्धन बढ्दा ०.५ देखि १ प्रतिशतको आधारले अहिलेको मुद्रास्फिीतिमा ५ प्रतिशतसम्म थप भार पर्ने देखिएको छ ।   

भारतमा भन्दा ६५ रुपैयाँ महँगो

कतिपय अवस्थामा नेपालमा भारतभन्दा कम मूल्यमा इन्धन पाइन्थ्यो । जसका कारण नेपालबाट इन्धन तस्करी हुन्थ्यो । त्यो रोक्नकै लागि निगमले नेपालमा पेट्रोलियम पदार्थको भाउ बढाउनु परेका दृष्टान्त छन् । तर अहिले नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतको तुलनामा ६५ रुपैयाँभन्दा बढी छ । शुक्रबारको मूल्य तुलना गर्दा नेपालमा पेट्रोल र डिजेल प्रतिलिटर औसतमा ६५ रुपैयाँभन्दा बढी महँगो देखिएको हो । नेपालमा शुक्रबारकोे मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल २०७ रुपैयाँमा बिक्री भइरहेको छ । भारतको राजधानी दिल्लीमा शुक्रबारै पेट्रोल प्रतिलिटर ९४ रुपैयाँ ७७ पैसा भारु र डिजेल ८७ रुपैयाँ ६७ पैसामा उपलब्ध छ । जुन नेपाली रुपैयाँमा क्रमशः करिब १५१ र १४० रुपैयाँ पर्छ । यसरी तुलना गर्दा नेपालमा पेट्रोल प्रतिलिटर ६५ रुपैयाँ र डिजेल ६४ रुपैयाँभन्दा बढी महँगो देखिन्छ । तैपनि निगमले घाटा देखाइरहेको छ । 

पेट्रोलियम आपूर्ति व्यवस्थापन गर्दै आएको नेपाल आयल निगमले हाल पेट्रोलमा प्रतिलिटर करिब १ रुपैयाँ र डिजेलमा ८४ रुपैयाँभन्दा बढी घाटा व्यहोरिरहेको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् । यही घाटा समायोजन गर्न मूल्य बढाइएको उनको तर्क छ । ठाकुरका अनुसार, भारतमा पेट्रोलियम पदार्थमा सरकारले व्यापक अनुदान दिने भएकाले सस्तोमा उपभोक्ताले खरिद गर्न पाएका हुन् । नेपालमा यो व्यवस्था नहुँदा महँगो परेको ठाकुरको दाबी छ । मूल्य समायोजनपछि पनि निगमले भारतीय आयल कर्पोरेसनसँग किनेको डिजेल काठमाडौं ल्याउँदा २९१ रुपैयाँ पर्ने गरेको निगमका प्रवक्ता ठाकुर बताउँछन् । 

निगमका अधिकारीहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारको मूल्य घटे पनि त्यसको प्रत्यक्ष प्रभाव तत्काल नेपालमा नपर्ने र पुरानो उच्च मूल्यमा खरिद गरिएको स्टकको भार अझै बाँकी रहेका कारण मूल्य समायोजन गर्नुपरेको हो । नेपालले आफ्ना सबै पेट्रोलियम पदार्थ इन्डियन आयल कर्पोरेसनबाट आयात गर्छ । आइओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्दछ । निगम स्रोतका अनुसार हालको मूल्यवृद्धि विगतको घाटालाई सन्तुलनमा ल्याउने प्रयासका रूपमा गरिएको हो । 

उच्च मूल्यका कारण सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् । ढुवानीदेखि दैनिक उपभोग्य वस्तुसम्म मूल्यवृद्धि भइरहेको छ । यातायात खर्च बढेसँगै खाद्यान्न, निर्माण सामग्री र औद्योगिक उत्पादन सबै क्षेत्रमा लागत बढ्दै गएको छ । 

uae

सम्बन्धित खबर