२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

आर्थिक समृद्धिको आधार जडीबुटी: प्रशोधन र ‘ब्रान्डिङ’मा जोड

Nada
२०८२ चैत २९ गते १२:४९
Shares
आर्थिक समृद्धिको आधार जडीबुटी: प्रशोधन र ‘ब्रान्डिङ’मा जोड

काठमाडौँ : अमूल्य जडीबुटी तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको समृद्ध देश मानिए पनि स्वदेशी जडीबुटीको प्रयोग प्रचुर मात्रामा नहुँदा राष्ट्रलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउने प्रयत्न साकार भएको छैन । 

ncell

कच्चा पदार्थका रूपमा निर्यात हुँदै आएको जडीबुटीलाई ब्रान्डिङ गरेर मुलुकको आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न सकिने वनस्पति जगत्का जानकारका साथै व्यापारी र  जडीबुटीमा सरोकार भएकाहरूले बताएका छन् । उपलब्ध स्रोतको सही उपयोग गरेर स्वदेशमा बृहत् आयुर्वेद अस्पताल र औषधि उद्योग सञ्चालन गर्न सकिने उनीहरूको कथन छ । 

देशका विभिन्न भागमा औषधीय गुण भएका असङ्ख्य वनस्पति तथा जडीबुटी पाइने भए पनि तीमध्ये धेरैजसो सस्तो मूल्यमा बिदेसिने गरेका छन् ।  हाम्रै जडीबुटीबाट बनेका औषधि महँगोमा आयात भइरहेका छन् । 

वनस्पति विभागका अनुसार देशमा ८१९ प्रजातिका जडीबुटी पहिचान भएका छन् । ती मध्ये ३३ प्रजाति आर्थिक विकासका लागि प्राथमिकतामा राखिएका छन् ।  करिब १२० प्रजातिको खेती भइरहेको छ भने २०० भन्दा बढी प्रजातिबाट सुगन्धित तेल उत्पादन गर्न सकिन्छ ।

विश्व बजारमा नेपालको हिस्सा अत्यन्त न्यून-करिब ०.००६ प्रतिशत छ । गत आवमा रु दुई अर्ब चार करोड बराबरको जडीबुटी निर्यात भएको निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । औसतमा वार्षिक रु एक अर्ब २४ करोड बराबरको जडीबुटी निर्यात हुने गरेको छ ।  

निर्यात हुने जडीबुटीमध्ये करिब ९० प्रतिशत कच्चा रूपमै बाहिरिने भएकाले अपेक्षित मूल्य अभिवृद्धि हुन नसकेको विभागका महानिर्देशक सञ्जीवकुमार राई बताउँछन् । 

संरचना सुदृढीकरण, नवीन प्रविधि, अनुसन्धान तथा निजी–सामुदायिक सहकार्य विस्तारमार्फत जडीबुटी क्षेत्रलाई आर्थिक वृद्धिको सशक्त माध्यम बनाउन सकिने उनको भनाई छ  । स्वदेशमा नै प्रशोधन गरेर औषधि उत्पादन गर्न सकेमा जडीबुटीलाई समृद्धिको बलियो आधार बनाउन सकिन्छ ।

त्यसैले जडीबुटी, गैरकाष्ठ वन पैदावार तथा जैविक विविधतालाई समृद्धिको आधारका रूपमा उपयोग गर्दै औषधिमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता औँल्याइएको छ । “हरियो वन नेपालको धन” भन्ने भनाइलाई व्यवहारमा उतार्दै अब जडीबुटीलाई समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिएको छ ।

नेपालबाट सन् २०२४-०२५ मा करिब रु. २ अर्ब ४ करोड बराबरको जडीबुटी निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सूचना अधिकृत कृष्णराज बजगाईँले जानकारी दिए । तीमध्ये करिब ९० प्रतिशत जडीबुटी कच्चा रूपमै निर्यात हुने गरेको पाइएको छ ।

यस्ता औषधीय गुण भएका गैरकाष्ठ वन पैदावारलाई स्वदेशमै औषधि निर्माण तथा अन्य प्रयोजनमा प्रयोग गर्न सके मुलुकलाई ठूलो लाभ हुने थियो । कच्चा पदार्थकै रूपमा निर्यात गर्दा भने तिनको वास्तविक मूल्य प्राप्त हुन सकेको छैन ।

वनस्पति विभागका अनुसार नेपालमा हालसम्म ८१९ प्रजातिका जडीबुटी पहिचान भएका छन्, जसमध्ये ३३ प्रजाति आर्थिक विकासका लागि प्राथमिकतामा राखिएका छन् । करिब १२० प्रजातिको खेती भइरहेको छ भने २०० प्रजातिबाट सुगन्धित तेल उत्पादन गर्न सकिने सम्भावना रहेको छ ।

हाल वार्षिक औसत रु. १ अर्ब २४ करोड बराबरको जडीबुटी निर्यात हुने गरेको छ। तर विश्व बजारमा नेपालको हिस्सा अत्यन्त न्यून-करिब ०.००६ प्रतिशत मात्र रहेको छ । करिब १०० प्रजाति व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका छन्, जसमध्ये २० प्रजातिले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् । भविष्यमा २५० भन्दा बढी प्रजाति व्यापारिक रूपमा उपयोग गर्न सकिने सम्भावना रहेको विभागको आकलन छ ।

जडीबुटी तथा गैरकाष्ठ वन पैदावारले नेपालको कुल वैदेशिक निर्यातको करिब १० प्रतिशत हिस्सा ओगट्दै आएको छ । यस क्षेत्रलाई व्यवस्थित गर्न सके व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने सरोकारवालाहरूको भनाइ छ ।

सरकारले ‘हिमालयन हर्ब्स’ ब्रान्डिङमार्फत जडीबुटी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना अघि सारेको छ । हाल करिब रु ७।७ अर्ब रहेको निर्यातलाई आगामी चार वर्षभित्र रु ३० अर्ब पुर्‍याउने लक्ष्य लिइएको विभागले जनाएको छ ।

वनस्पति विभागका महानिर्देशक डा. राईले संकलित जडीबुटीमध्ये करिब ९० प्रतिशत कच्चा रूपमै निर्यात हुने गरेको बताए । “यसका कारण अपेक्षित मूल्य अभिवृद्धि हुन सकेको छैन,” उनले भने, “संरचना सुदृढीकरण, प्रविधि, पूँजी, अनुसन्धान र सार्वजनिक–निजी–सामुदायिक सहकार्य आवश्यक छ ।”

उनका अनुसार अनुसन्धान र विकासमा लगानी वृद्धि गर्दै जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सके नेपाललाई ‘जडीबुटीको अन्तर्राष्ट्रिय भण्डार’का रूपमा स्थापित गर्न सकिन्छ । “नेपालमै प्रशोधन गरेर औषधि उत्पादन गर्न सके समृद्धिको बलियो आधार तयार हुन्छ,” उनले भने ।

डा. राईले आधुनिक विज्ञानसँग समन्वय गरी जडीबुटीमा अनुसन्धान तीव्र बनाउँदै रासायनिक संरचना पहिचान र पेटेन्ट लिन सकिने सम्भावना औँल्याए । हाल अधिकांश जडीबुटी जंगली रूपमा संकलन हुने भएकाले दिगो व्यवस्थापनका लागि व्यावसायिक खेती विस्तार आवश्यक रहेको उनले बताए ।

कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले जडीबुटी क्षेत्रमा ठूलो सम्भावना रहेको जनाएको छ । निमित्त महाप्रबन्धक उषा रिजालले जडीबुटीको उचित उपयोग गर्न सके आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।

उनका अनुसार कम्पनीले विभिन्न जडीबुटीजन्य उत्पादन बजारमा ल्याएको छ। तर ठूलो परिमाणमा उत्पादन गर्न नसक्दा लागत बढी पर्ने समस्या रहेको छ। अर्ग्यानिक प्रमाणीकरणको अभावले निर्यातमा चुनौती देखिएको उनले बताइन् ।

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुरप्रसाद भण्डारीले कानुनी जटिलताका कारण जडीबुटी उत्पादन र ओसारपसारमा समस्या भइरहेको बताए । उनले अनुदान, सहजीकरण र बजार व्यवस्थापन सुधार आवश्यक रहेकोमा जोड दिए ।

वनविद् डा. नवीन जोशीले अर्ग्यानिक तथा वन प्रमाणीकरणलाई प्राथमिकता दिन सके निर्यात वृद्धि हुने बताए। अन्तर्राष्ट्रिय बजारमा अर्ग्यानिक जडीबुटीको माग बढ्दै गएको उनको भनाइ छ ।

निजी क्षेत्रले कच्चा निर्यात घटाएर प्रशोधन र ब्रान्डिङमा जोड दिनुपर्ने सुझाव दिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जडीबुटीलाई औद्योगिक उत्पादन र निर्यातको आधार बनाउन सकिने बताए ।

नेपालमा राजनीतिक अस्थिरता, महामारी र संरचनागत कमजोरीका कारण अर्थतन्त्र प्रभावित भइरहेका बेला जडीबुटी क्षेत्र समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने सरोकारवालाको निष्कर्ष छ। यस क्षेत्रलाई प्राथमिकतामा राखी नीति, लगानी र सहजीकरण बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
 

uae

सम्बन्धित खबर