
काठमाडौं : यस वर्षको ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ पत्रकार शंकर अर्याललाई प्रदान गरिने भएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय अर्यालले पुर्याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
करिब १४ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका अर्याल हाल रातोपाटी डटकममा कार्यरत छन् । उनी रातोपाटी डटकमका आर्थिक ब्युरो प्रमुख हुन् । विशेषगरी आर्थिक विषयमा कलम चलाउँदै आएका उनले आफ्नो पेशागत निष्ठा र विश्लेषणात्मक लेखनमार्फत पहिचान बनाएका छन् ।
नेपाल पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूमध्ये प्रत्येक वर्ष उत्कृष्ट एक जनालाई छनोट गरी चैत ३० गते यो पुरस्कार प्रदान गरिँदै आएको छ । मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठले आफ्नो स्व. बुबाको सम्झनामा सो पुरस्कार स्थापना गरेकी हुन् ।
उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज बिद्रोहीका अनुसार पत्रकारितामा समर्पण, सक्रियता र योगदानका आधारमा पुरस्कारका लागि छनोट गरिन्छ ।
गत वर्ष (२०८१) यो पुरस्कार चन्द्रसूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई प्रदान गरिएको थियो ।
लमजुङको चिती निवासी स्वर्गीय गौरीनारायण श्रेष्ठको ८० वर्षको उमेरमा २०८० फागुन २ गते निधन भएको थियो ।
यस्तै ‘उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार २०८२’ वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गरिने भएको छ । तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका दवाडीलाई दीर्घकालीन योगदानको कदरस्वरूप सम्मान गर्न लागिएको हो ।
सो पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार मञ्चका पूर्वमहासचिव एवं सल्लाहकार रामप्रसाद पौडेलले स्थापना गरेका हुन् ।
नेपाल पत्रकार मञ्चले दुवै पुरस्कारमार्फत पत्रकारितामा समर्पित व्यक्तित्वलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । दुवै जनालाई मञ्चको २०औं वार्षिकोत्सवको अवसरमा चैत ३० गते सोमबार पुरस्कार प्रदान गरिने अध्यक्ष बिद्रोहीले जानकारी दिए ।