
सर्लाही : सर्लाहीको बागमती नगरपालिका–१ दापडाँडा गाउँमा पिउने पानीको चरम अभाव भएको छ । सुरक्षित खानेपानीको पहुँच नहुँदा स्थानीयवासी दूषित कुवाको पानी पिउन बाध्य भएका हुन् ।
स्थानीयवासी वीरबहादुर गोलेका अनुसार गाउँमा रहेको कुवा नै मुख्य पानीको स्रोत भए पनि वर्षा लागेपछि बाढीले कुवा बगाउने समस्या छ ।
‘बर्खामा पानी परेपछि कुवा बगाउँछ, त्यसपछि आकासे पानी पिउन बाध्य हुन्छौं’उनले भने । उनका अनुसार टाढाबाट पानी ल्याउन पनि सहज छैन । ‘कुवाबाट पानी ल्याउन झन्डै डेढदुई घण्टा लाग्छ,’केहीदिन पहिले आएको पानीको भेलले कुवा बगाएपछि त्यही कुवालाइ खनीखोस्री गरेर धमिलो पानी खाइरहेका छौ, उनले दुखेसो पोखे । जसले गर्दा यस क्षेत्रका नागरिकको स्वास्थ्य र दैनिक जीवनमा निकै कष्टकर बन्दै गएको स्थानीयवासीको गुनासो छ ।
एक गाग्रो पानी लिनका लागी बिहानको सम्पुर्ण समय खर्चिनु पर्ने बाध्यता रहेको दापडाँडाका स्थानीय विष्णुमाया मोक्तानस्याले बताइन् । नगरपालिकाले हिउँदमा मुस्किलले तीन महिना जति हप्तामा दुई दिन ट्यांकरमा ल्याएको पानी वितरण गर्छ । अहिले विभिन्न बहानामा पानी वितरण गर्ने कार्य बन्द भयो । पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाबाट कुनै ठोस पहल नभएको उनी बताउँछिन् । जनप्रतिनिधिहरूले यस विषयलाई बेवास्ता गरी बस्दा समस्या झन् जटिल बन्दै गएको उनीहरूको आरोप छ । स्थानीयका अनुसार खानेपानीको दिर्घकलिन व्यवस्था गर्न सम्बन्धित निकायसंग पटक पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
यता बागमतीनगरपालिका–१ का वडाध्यक्ष गम्भिरसिंह पाख्रीनले एक साताअगाडी आएको पानीको भेलले बाटो बिग्रेपछि पानी बितरण गर्न नसकिएको जानकारी दिए ।
‘म कहाँ स्थानीयको गुनासो आइसकेको छ, तत्काल बाटो मर्मत गरेर एक दुई दिनभित्रै त्यस क्षेत्रका नागरिकले पानी पिउने वातावरण बनाउनेछु’ उनले भने ।
उनका अनुसार यसै क्षेत्रबाट निर्वाचित भएर मधेश प्रदेशका उर्जा सिँचाइ तथा खानेपानी मन्त्री बनेका जवाहरलाल कुशवाहासँग यस क्षेत्रको दिर्घकालिन खानेपानी समस्या समाधानका लागि आवश्यक पहल भइसकेको जनाएको छ ।