
काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको विवरणअनुसार प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् । विवरणमा उनले सो रकम फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र इन्स्टाग्रामबाट पाएको उल्लेख गरेका छन् ।
यस्तै, श्रीमती सविना काफ्लेसँग १९० तोला गहना भएको समेत खुलाएका छन् । यस्तै, आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नम्बर ९मा ५ आना जग्गा रहेको र धनुषामा १ दशमवल २ बिघा जग्गा रहेको उल्लेख छ । त्यस्तै, बुवा रामनारायण शाहका नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ ।
यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेको चार जिल्लामा घरघडेरी र चार जिल्लामा जग्गा रहेको छ । विवरणअनुसार स्वर्णिम वाग्लेको नाममा ललितपुरको सानेपामा अपार्टमेन्ट छ । १ हजार २८४ वर्गमिटरको उक्त अपार्टमेन्ट दुई करोड रुपैयाँबराबरको हो ।
त्यस्तै, ललितपुरको भैंसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड मूल्यको अर्को घर उनले देखाएका छन् । काभ्रेको धुलिखेलमा पनि उनको नाममा अपार्टमेन्ट छ । ९ आना क्षेत्रफलमा रहेको उक्त आवासीय अपार्टमेन्टको मूल्य ३ करोड ७५ लाख देखाइएको छ ।
तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलको घर रहेको छ । त्यसको मूल्य २ करोड रहेको उनले उल्लेख गरेका छन् । यी घरजग्गा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीबाट जोडेको उल्लेख गरेका छन् ।
यसैगरी उनको काठमाडौंको चन्द्रागिरि, गोरखामा ३ रोपनी, गोरखा नगरपालिकामा ५ रोपनीलगायत स्थानमा जग्गा रहेको छ । यी जग्गाजेथा क्रमशः पिताको रोजगारी र बचत, पैतृक सम्पत्ति, अन्तर्राष्ट्रिय रोजगारी, पिताको बचत र अन्तर्राष्ट्रिय रोजगारी, श्रीमतीको आयबाट जोडेको उनले बताएका छन् । स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन् । यसको स्रोत पनि पारिवारिक तथा रोजगारीबाट जोडेको उल्लेख छ । अर्थमन्त्री वाग्लेले हिमालयन, सानिमा, स्ट्यान्डर्ड चार्टड बैंकमा गरी आफूसँग १ करोड ९० लाख मौज्दात रहेको बताएका छन् । आफू र पत्नीको आय एवं सापटीबाट जोडेको उनले उल्लेख गरेका छन् ।
यसैगरी गृहमन्त्री सुधन गुरुङको सम्पत्ति पनि करोडौं रहेको छ । उनको सेयरमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । विवरणअनुसार, गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको सेयर बजारमा लगानी देखिएको हो । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण सेयर रहेको उल्लेख छ । उक्त सेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ । त्यस्तै, सबैभन्दा बढी लगानी ‘धितोपत्र बजारमा कारोबार हुने सेयरहरू’मा भएको उनले एकमुष्ट उल्लेख गरेका छन् । व्यावसायिक र पैतृक सम्पत्तिको स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरणअनुसार, ‘धितोपत्र बजारमा कारोबार हुने सेयरहरू’मा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ । एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो सेयर रहेको उल्लेख गरेका छन् । जहाँ ७० हजार थान सेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यस्तै, गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ ।
उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुमनुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । यस्तै, गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ । उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ । सम्पत्ति सार्वजनिक गरेका मन्त्रीहरूमध्ये धेरै मन्त्रीको सम्पत्ति करोडौंमा देखिएको छ भने कतिपयको सम्पत्ति थोरै देखिएको छ ।