२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

ऊर्जा मन्त्रालयमा दुई सातामै ४ हजारभन्दा बढी गुनासो, सबैको समाधान गरिएको दाबी

Nada
२०८३ वैशाख १ गते १५:०३
Shares
ऊर्जा मन्त्रालयमा दुई सातामै ४ हजारभन्दा बढी गुनासो, सबैको समाधान गरिएको दाबी

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पछिल्लो दुई साताको अवधिमा हजारौँ गुनासो दर्ता भएको र ती सबैको समयमै समाधान गरिएको मन्त्रालयले जनाएको छ ।

ncell

मन्त्रालयका अनुसार उक्त अवधिमा कुल ४ हजार २६९ वटा गुनासो विभिन्न माध्यममार्फत प्राप्त भएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हालेसँगै नागरिक गुनासोको प्रभावकारी सुनुवाइ र छिटो सम्बोधन सुनिश्चित गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका थिए । उनले चैत १३ गते मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका हुन् ।

मन्त्रालयले विद्युत् सेवा तथा सम्बन्धित समस्या समाधानलाई व्यवस्थित बनाउन हटलाइन नम्बर ११५१ लाई सक्रिय र परिणाममुखी बनाएको जनाएको छ । सोही माध्यमबाट आएका गुनासोहरूलाई प्राथमिकताका साथ तत्काल समाधान गरिएको दाबी गरिएको छ ।

प्राप्त विवरणअनुसार टेलिफोनमार्फत सबैभन्दा धेरै ४ हजार २४८ गुनासो आएका छन् भने ह्वाट्सएपमार्फत १४, इमेलमार्फत २ र ‘हेलो सरकार’ प्रणालीमार्फत ५ वटा उजुरी दर्ता भएका थिए ।

मन्त्री श्रेष्ठले आफ्नो कार्यकालको प्रारम्भिक उपलब्धि सार्वजनिक गर्दै प्रशासनिक सुधार, पारदर्शिता र उत्तरदायित्वमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताएका छन् । साथै, नागरिक सहभागिता अभिवृद्धि गर्दै विकास प्रक्रियालाई प्रभावकारी बनाउने दिशामा मन्त्रालय केन्द्रित रहेको उनको भनाइ छ ।

उनले नयाँ आयोजना अघि बढाउँदा पर्याप्त अध्ययनको अभावमा थप आर्थिक भार सिर्जना हुने अवस्थालाई ध्यानमा राख्दै हाल अलपत्र र समस्याग्रस्त परियोजनाहरूको शीघ्र सम्पन्नतालाई प्राथमिकता दिने नीति अवलम्बन गरिएको स्पष्ट पारेका छन् । ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन स्पष्ट नीतिगत मार्गदर्शनसहित सुधारमुखी पहलमा जोड दिइएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

uae

सम्बन्धित खबर