
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मातृभाषाको विकासलाई लिएर आफूलाई ‘मार्क्सवादी’ भन्ने आरोप लागे पनि त्यसप्रति गर्व गर्ने बताएका छन् । समावेशी ढंगले मातृभाषाको संरक्षण र प्रवर्धन गर्नु जरुरी रहेको उल्लेख गर्दै उनले संवैधानिक रूपमा नेपालका १२४ वटै मातृभाषाको संरक्षण सबैको साझा दायित्व भएको स्पष्ट पारे ।
मंगलबार प्रतिष्ठानअन्तर्गत साहित्य (मातृभाषा) विभागले आयोजना गरेको ‘मातृभाषा साहित्यको ३०औं शृंखला’ कार्यक्रममा बोल्दै कुलपति राईले मातृभाषाको सवालमा देखिएको भाषिक तथा सांस्कृतिक अतिक्रमणप्रति चिन्ता व्यक्त गरे । उनले सगरमाथाको नामकरणप्रति प्रश्न उठाउँदै पहिले किरात भाषामा ‘चोमोलुङ्गा’ र शेर्पा भाषामा ‘ज्योमोलाङ्मा’ भनिने नामलाई विस्थापित गरिनु ऐतिहासिक रूपमा गम्भीर विषय भएको टिप्पणी गरे । “यदि चोमोलुङ्गा वा ज्योमोलाङ्मा नामलाई नै व्यापकता दिइएको भए के उचाइ घट्थ्यो र?” भन्दै उनले भाषिक पहिचानको संरक्षणमा संवेदनशील हुन आग्रह गरे ।
देवकोटा सभाकक्षमा सम्पन्न कार्यक्रममा सदस्य सचिव धनप्रसाद सुवेदी ले सीमित बजेटका बाबजुद मातृभाषामा भएका कामहरू उल्लेखनीय रहेको धारणा राखे । यस्तै, प्राज्ञ परिषद् सदस्य तथा विभाग प्रमुख राजन मुकारुङले मातृभाषा साहित्य शृंखलाले नयाँ जागरण ल्याएको उल्लेख गर्दै मातृभाषाका पाठ्यपुस्तकहरू सम्बन्धित समुदायको सौन्दर्य र सन्दर्भअनुसार निर्माण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्येता किरणकुमार बरामले ‘बराम समुदायको लोकसाहित्य’ र पदम रानाले ‘रानाथारु साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानले आफ्नो ६८ वर्षे इतिहासमा पहिलोपटक शेर्पा भाषाको पत्रिका ‘ज्योमोलाङ्मा’ सार्वजनिक गरेको छ । उक्त पत्रिकाको लोकार्पण कुलपति राईलगायतले गरेका थिए । पत्रिकामाथि समीक्षात्मक मन्तव्य कार्यकारी सम्पादक दावा शेर्पाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न मातृभाषाका कविहरूले कविता वाचन पनि गरेका थिए । भोजपुरी भाषाका रितेश त्रिपाठी, आठपहरिया भाषाकी विमला राई र अछामी भाषाका प्रदीप जैसीले आफ्ना मातृभाषामा रचना सुनाएका थिए ।
यसैबीच, शेर्पा संघका अध्यक्ष लाक्पा ठिनेल शेर्पाले कुलपति राई र प्राज्ञ मुकारुङलाई सम्मान गरेका थिए भने राष्ट्रिय समाचार समिति (रासस)का पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रज्ञा पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।