२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

६ वर्षपछि मौलापुरले पायो उपसचिव, प्रशासनिक स्थायित्वप्रति बढ्यो अपेक्षा

Nada
राजकुमार यादव
२०८३ वैशाख ३ गते १२:३७
Shares
६ वर्षपछि मौलापुरले पायो उपसचिव, प्रशासनिक स्थायित्वप्रति बढ्यो अपेक्षा

रौतहट : रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको प्रशासनिक संरचनामा परिवर्तन आएको छ । बिहीबार उपसचिव सुरेशबाबु घिमिरे प्रमुख प्रशासकीय अधिकृतका रूपमा औपचारिक रूपमा हाजिर भएका छन् ।

ncell

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत १९ गते जारी गरेको सरुवा तथा पदस्थापन निर्णयअनुसार घिमिरे मौलापुरमा खटिएका हुन् । यसअघि करिब ६ वर्षसम्म नगरपालिकाको प्रशासनिक जिम्मेवारी निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले सम्हाल्दै आएका थिए ।

स्थानीय तह सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्णायक मानिन्छ । विकास योजना कार्यान्वयन, बजेट व्यवस्थापन, ठेक्का प्रक्रिया सञ्चालन, प्रशासनिक अनुशासन कायम तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारी यही पदसँग जोडिएको हुन्छ । लामो समयसम्म स्थायी प्रशासनिक नेतृत्व अभाव हुँदा नगरपालिकाको कार्यसम्पादनमा असर परेको गुनासो स्थानीयस्तरमा रहँदै आएको थियो ।

मन्त्रालयले विगतमा पनि मौलापुरका लागि उपसचिव स्तरको दरबन्दी तोकेको भए पनि विभिन्न कारणले पदपूर्ति हुन सकेको थिएन । यसपटक घिमिरेको पदस्थापनासँगै नगरपालिकामा प्रशासनिक स्थायित्व आउने विश्वास गरिएको छ ।

उपसचिव घिमिरेलाई नगरपालिकामा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीले स्वागत गरेका थिए । स्वागतका क्रममा गम्छा, अबिर, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

वडा नं. ९ का वडाध्यक्ष श्यामकिशोर साहले स्थायी प्रशासनिक नेतृत्वको आगमनले नगरपालिकामा विधि र प्रक्रियाअनुसार काम सञ्चालन हुने विश्वास व्यक्त गरे । 'स्थायी नेतृत्व आउनु सकारात्मक सन्देश हो, अब काममा गति आउने अपेक्षा गरेका छौं,' उनले भने ।

वर्षौंदेखि प्रभावकारी प्रशासन, नियमसम्मत सेवा प्रवाह र विकास निर्माणमा गति आउने अपेक्षा राखेका स्थानीयवासी उपसचिवको आगमनसँगै उत्साहित देखिएका छन् । अब सुशासन स्थापना, सेवा प्रवाह सुधार तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनतर्फ नगरवासीको ध्यान केन्द्रित भएको छ ।

uae

सम्बन्धित खबर