
बर्दिया : बर्दियामा ‘समुदाय विपद् स्वयंसेवक आधारभूत तालिम’ सुरु भएको छ । बिहीबारबाट सुरु भएको तालिम वैशाख २४ गतेसम्म १८ दिन सञ्चालन हुनेछ ।
बर्दिया जिल्लाभरिबाट तालिममा सहभागी प्रशिक्षार्थीलाई विपद् व्यवस्थापन सम्बन्धि आधारभूत ज्ञान, बाढी, पहिरो, डुबान, डोरीद्वारा गरिने उद्दार, सडक तथा यान्त्रिक दुर्घटनामा उद्दार, आगलागी नियन्त्रण, भूकम्पीय जोखिम न्युनिकरण तथा पहिलो उपचारको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तालिममा प्रदान गरिने सशस्त्र प्रहरी बल गण नं. ३१ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिनेश महतले जानकारी दिए ।
बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटरको आयोजनामा गुलरिया नगरपालिका वडा नं. ८ सुरजपुरमा तालिम सञ्चालन हुनेछ ।
यस आर्थिक वर्ष ०८२/०८३ मा ५० जना समुदाय विपद् स्वयंसेवक तयार गर्ने कार्ययोजना रहेको समेत सशस्त्र प्रहरी उपरीक्षक महतले बताए ।
अहिले सञ्चालन भएको तालिममा बर्दिया जिल्लाका ८ वटै पालिकाबाट २५ जना प्रशिक्षार्थी सहभागी भएका छन् र यो तालिम समापन पश्चात पुनः अर्को तालिम सञ्चालन हुने समेत सशस्त्र प्रहरी उपरीक्षक महतले जानकारी दिए ।
उत्कृष्ट ढंगबाट तालिम सञ्चालन गर्न सशस्त्र प्रहरी निरीक्षक सहित ९ जना प्रशिक्षक खटाइएको र यस तालिमले बर्दिया जिल्लामा भइपरी आउने विपद् बाट हुने क्षति न्युनिकरणमा सहयोग पुग्ने साथै विपद् प्रतिकार्यको तयारी स्वरूप यस सशस्त्र प्रहरी गणबाट जिल्लाका प्रत्येक वडामा २५ जनाका दरले विपद् सूचक समेत निर्माण गरिएको महतले बताए ।
विपद् सम्बन्धि तालिममा महत्वपूर्ण सिकाई हुने र यस तालिमबाट विपद् बाट आफू कसरी बच्ने र अरूलाई कसरी सुरक्षित राख्ने विषयमा सिकेर समुदायका अरूलाई सिकाउने तालिममा सहभागी राजापुर नगरपालिका वडा नं. ५ की पार्वती थारुले बताइन् ।
वडास्तरदेखि संघ स्तरसम्म विपद् व्यवस्थापनको बलियो संरचना भए पनि विपद्को पूर्व तयारी तथा व्यवस्थापनमा अझै कमजोरी रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।
बर्दियामा कर्णाली नदी, बबई नदी, गेरुवा नदी र मानखोलामा आउने वर्षापछिको पानीका कारण प्रत्येक वर्ष बाढी पहिरोबाट ठूलो धनजनको क्षति हुने गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटर बर्दियाको आयोजनामा जिल्ला विपद् व्यवस्थापन समिति बर्दिया, स्थानीय विपद् व्यवस्थापन समितिहरुको समन्वय र बिग्रुपको प्रयास–२ परियोजना अन्तर्गत तालिम सञ्चालन भएको हो ।