
काठमाडौँ : सर्वोच्च अदालतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा वारेसमार्फत उपस्थित हुने सुविधा प्रदान गरेको छ ।
न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले प्रधानमन्त्री शाहलाई मुद्दाको तारिखमा व्यक्तिगत रूपमा उपस्थित नभई प्रतिनिधिमार्फत प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था अनुमति दिएको हो । यस निर्णयसँगै अब तारिखका दिन शाहका तर्फबाट वारेस उपस्थित भएर कानुनी प्रक्रिया अघि बढाउन सकिने भएको छ ।
यसअघि यस्तो सुविधा उपलब्ध थिएन भने अबदेखि सोही आधारमा सुनुवाइ प्रक्रियामा सहजीकरण हुने अदालतको निर्णयले स्पष्ट पारेको छ ।
उक्त अवहेलना मुद्दा करिब तीन वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । मुद्दाको सुरुआत उच्च अदालत पाटनले सिनेमा हलहरूमा हिन्दी चलचित्र प्रदर्शन रोक्न दिएको अन्तरिम आदेशपछि भएको विवादसँग सम्बन्धित घटनाबाट भएको हो ।
सो आदेशपछि तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी निवेदन दायर गरेकी थिइन् ।