
काठमाडौँ : भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरूमा आइतबारसमेत नियमित पठनपाठन सञ्चालन हुने निर्णय गरिएको छ ।
नगर कार्यपालिकाको हालै बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सबै विद्यालयलाई पूर्वनिर्धारित शैक्षिक क्यालेण्डर अनुसार सञ्चालनमा राख्ने निर्णय गरेको जनाएको छ ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्ने तथा नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने विषयमा परिपत्र जारी गरेको थियो ।
तर स्थानीय स्तरमा विद्यालय सञ्चालक, विभिन्न परीक्षा समिति, आधारभूत विद्यालय समिति तथा निजी विद्यालय सम्बद्ध संघ-संस्थाहरूले दुई दिन बिदा कायम गर्दा शैक्षिक दिन घट्ने र पाठ्यक्रमले तोकेको क्रेडिट आवर पूरा गर्न कठिन हुने भन्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने धारणा अघि सारेका थिए ।
यसैगरी, जिल्ला अभिभावक संघले समेत शैक्षिक सत्र वैशाख १ गतेदेखि नै सुरु गर्नुपर्ने र आइतबार पठनपाठन सञ्चालन गर्नुपर्ने मागसहित नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो ।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार एक शैक्षिक वर्षमा २२० कार्य दिन सुनिश्चित गर्नुपर्ने प्रावधान तथा सर्वोच्च अदालतको हालैको आदेशलाई समेत आधार मानेर निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार आधारभूत र माध्यमिक तहको शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले स्थानीय आवश्यकता, सरोकारवालाको सुझाव र कानुनी व्यवस्था अनुरूप विद्यालय सञ्चालनसम्बन्धी निर्णय गरिएको स्पष्ट पारिएको छ ।