
काठमाडौं : सुरक्षित मुद्रण केन्द्र र यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्स छपाइ अभूतपूर्व गतिमा अघि बढिरहेको दाबी गरिरहेका छन् । अहिले दैनिक ४० हजारभन्दा बढी लाइसेन्स कार्ड छाप्ने क्षमता उपयोगमा ल्याइएको छ । जसका कारण केही वर्षयता थन्किएका लाखौं लाइसेन्स क्रमशः वितरण हुन थालेका छन् । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार बुधबारसम्म ६ लाखभन्दा बढी कार्ड छपाइ भइसकेका छन् भने साढे ४ लाख वितरणका लागि पठाइसकिएको छ ।
धेरैलाई लाग्छ, नयाँ सरकार आएपछि एकाएक गति बढेको हो । सरकार फेरिँदा यति छिटो लाइसेन्स छाप्न सक्ने सुरक्षण मुद्रण केन्द्र यतिन्जेल के हेरेर बसेको थियो ? लाइसेन्स छपाइले गति लिनुपछाडिको कारण भने बेग्लै छ । विभागकै आन्तरिक विवरणअनुसार आर्थिक वर्ष २०७७/७८सम्म आइपुग्दा करिब ८ देखि १० लाखसम्म लाइसेन्स कार्ड छपाइ हुन बाँकी रहेको अनुमान गरिएको थियो । ट्रायल पास गरेका सेवाग्राहीले ६ महिना होइन, कतिपयले १–२ वर्षसम्म कुर्नुपरेको अवस्था थियो । आर्थिक वर्ष २०७८/७९मा पनि छपाइको वार्षिक संख्या करिब ३–४ लाख हाराहारीमै सीमित रहँदा नयाँ थपिने सेवाग्राहीका कारण दबाब झन् बढ्दै गएको थियो । यसको मुख्य कारण प्राविधिक र संरचनागत कमजोरी थियो ।
स्मार्ट लाइसेन्स प्रणाली लागू गर्ने निर्णय भने यसअघिका सरकारकै पालामा गरिएको हो । विभागले विदेशी कम्पनीसँग सहकार्य गरी स्मार्ट कार्ड प्रिन्टिङ मेसिन जडान, सफ्टवेयर विकास र डाटा डिजिटलाइजेसन प्रक्रिया अघि बढाएको थियो । तर उपकरण खरिदमा ढिलाइ, सञ्चालनमा प्राविधिक समस्या, र दक्ष जनशक्तिको अभावका कारण ती संरचना पूर्ण क्षमतामा चल्न सकेनन् । फलस्वरूप, २०७९ सालसम्म आइपुग्दा पनि दैनिक छपाइ क्षमता ५–७ हजार कार्डभन्दा माथि जान सकेको थिएन । पछिल्लो एक वर्षको तथ्यांकले भने फरक तस्बिर देखाउँछ । विभागले छपाइ प्रक्रियालाई प्राथमिकतामा राख्दै ‘ब्याकलग क्लियर’ अभियान सुरु गरेपछि छपाइ कार्य तीव्रगतिमा अघि बढेको हो ।
यातायात व्यवस्था विभागले गत कात्तिक १३गते सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइको सम्झौता गरेको थियो । मुद्रण केन्द्रमा छपाइ गर्ने छलफल भने गतवर्षदेखि नै चलेको थियो । यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिं राई भन्छन्, ‘हामीले गतवर्ष विषयगत समितिको निर्देशनअनरूप सुरक्षण मुद्रण केन्द्रसँग १२ लाख लाइसेन्स छपाइका लागि सम्झौता गरेका थियौं । अहिले त्यही लाइसेन्स छापिइरहेको अवस्था हो ।’ ती लाइसेन्स विभिन्न जिल्ला तथा कार्यालयमा पठाउने काम भइरहेको छ । बाँकी लाइसेन्स छाप्नका लागि फेरि सम्झौता गर्ने तयारी गरिरहेको राई बताउँछन् ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगाना अहिले लाइसेन्स छपाइको काम तिब्र गतिमा भइरहेको बताउँछन् । पहिले यातायात व्यवस्था विभागले पुराना ‘ब्याक लग’ लाइसेन्सको डाटा केन्द्रलाई उपलब्ध गराउने प्रणाली तयार नभएको कारण देखाउँदै ढिलासुस्ती हुँदै आएको थियो । हाल भने डाटा पठाउन थालेसँगै धमाधम छपाइ सुरु भएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढुंगानाले भने, ‘सम्झौता भएपछि कच्चापदार्थ खरिद, कार्ड खरिदलगायत काम गर्दा ३–४ महिना लाग्यो । त्यही भएर अध्ययन तथा वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका अत्यावश्यक लाइसेन्स दैनिक ५००का दरले मात्र छापेका थियौं । अहिले भने १२ लाख लाइसेन्स छाप्ने सम्पूर्ण तयारी पूरा भएपछि धमाधम छपाइ भइरहेको छ ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई लाइसेन्स छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो सबै बाँकी लाइसेन्स छाप्न निर्देशन दिएका छन् । मन्त्रालयले नतिजामुखी साशकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनामा समेत यो विषयलाई प्राथमिकताका साथ राखेको छ ।
हाल सम्झौता भएको १२ लाखबाहेक विभागमा अझै करिब १७ लाख लाइसेन्स छपाइ हुन बाँकी छ । बाँकी लाइसेन्स छपाइका लागि पनि सम्झौता गर्ने तयारी अघि बढिरहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी राईले बताए । उनले भने, ‘बाँकी रहेका १६/१७ लाख जति लाइसेन्स पनि असार मसान्तसम्म छाप्नेगरी सम्झौता गर्ने कुरा अघि बढेको छ । योजनाअनुसार सम्झौता भयो भने असार मसान्तसम्म सबै छपाइ गर्न सकिन्छ । त्यसको तयारीमा हामी जुटिसकेका छौं ।’