
काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठको जन्म दिनको अवसर पारेर वृक्षरोपण गरिएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले रौतहटबाट पहिलोपटक सुरुवात गरिएको 'जन्म दिनलाई सत्कर्ममा जोडौं' अभियानका अभियन्ता एवं राष्ट्रिय संयोजक, पत्रकार गोविन्द प्रसाद चौलागाईंको नेतृत्वमा उपस्थित समूहद्वारा प्रधान सम्पादक श्रेष्ठको जन्म दिन पारेर पशुपति विकास क्षेत्रस्थित भण्डारखाल जंगलमा वृक्षारोपण गरिएको हो ।
सो अवसरमा वृक्षरोपणको शुभारम्भ गर्दै पत्रकार चौलागाईंले अघिल्लो पुस्ताले रुख रोपेर हामीलाई अक्सिजन दिएजस्तै हामीले पनि भावी पुस्ताको जीवनका लागि वृक्षरेपण गरेर अक्सिजन हस्तान्तरण गर्न सक्नुपर्ने बताए । आफ्नो जन्मदिनलाई सम्झिएर सबैले एक-एक वटा बिरुवा रोप्नसके पृथ्वी हरियाली हुने उनले बताए । चौलागाईंले पत्रकारिता कर्ममा चार दशकदेखि सक्रिय वरिष्ठ पत्रकार श्रेष्ठको जन्म दिनमा भण्डारखाल जस्तो पवित्र स्थानमा वृक्षरोपण गर्न पाउनु गौरवकै विषय भएको उल्लेख गर्दै प्रधान सम्पादक श्रेष्ठको जन्म दिनको अवसरमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा प्रधान सम्पादक श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा अभियन्ता तथा पत्रकार चौलागाईं र उनको टिमप्रति आभार प्रकट गर्दै वृक्षारोपण अभियान जीवन्त वन्न सकोस भन्ने कामना गरे ।
गुरु उज्ज्वलको स्वष्तिवाचनका साथ सुरु भएको वृक्षरोपणमा अभियन्ता चौंलागाई, प्रधान सम्पादक श्रेष्ठका साथै मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ, प्रकाशक श्रेष्ठकी आमा कृष्णकुमारी श्रेष्ठ, रेश्मा पुन, नविनकुमार श्रेष्ठ, इच्छा शाहीलगायतले पिपलका साथै बिभिन्न जातका फूलका विरुवाहरू रोपेका थिए ।

स्मरणीय छ, हरेक दिन बिहान भण्डारखालबाट फूल लगेर पशुपतिमा चढाउँने गरिन्छ । यो अभियानबाट हाल सम्म १३ हजार बिरुवा रोपिएको छ भने कसैसँग कुन सहयोग नलिई स्वतस्फूर्त अभियान अगाडि बढेको बताएको छ ।