
काठमाडौं : रैथाने खानाको संरक्षण, प्रवर्धन र त्यसको आर्थिक सम्भावनालाई उजागर गर्न सञ्चारकर्मीहरूको भूमिका प्रभावकारी रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । ककनीमा आयोजित 'रैथाने खाना प्रवर्धन तथा सञ्चारकर्मीसँग प्राकृतिक भोजन' कार्यक्रमका वक्ताहरूले स्थानीय खानालाई राष्ट्रिय पहिचानसँगै पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको व्यावसायिक सम्भावना उल्लेख गर्दै उचित ब्रान्डिङ र प्रचारप्रसार गर्न सके यसले अन्तर्राष्ट्रिय बजारमा समेत सशक्त उपस्थिति जनाउन सक्ने बताए । उनले घरदेखि होटलसम्म रैथाने परिकारको प्रयोग बढाउन दक्ष सेफमार्फत ज्ञान र सीप विस्तार गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार यस्तो पहलले स्थानीय खाद्य परम्पराको संरक्षण मात्र नभई स्वास्थ्यकर खानाको प्रवर्द्धन र पर्यटनसँगको अन्तरसम्बन्धलाई पनि सुदृढ बनाउँछ ।
विशिष्ट अतिथि गैरआवासीय नेपाली संघकी पूर्वअध्यक्ष रविना थापाले प्राकृतिक र रैथाने खानाको महत्वबारे चर्चा गर्दै आधुनिक जीवनशैलीले निम्त्याएका अस्वस्थ खानाको विकल्पका रूपमा स्थानीय परिकारलाई अघि सार्नुपर्ने बताइन् । उनले रैथाने खानाको संरक्षण र प्रवर्द्धनका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।
कार्यक्रमका आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खाना केवल परिकार मात्र नभई नेपाली संस्कृति र पहिचानको अभिन्न अंग भएको बताए । उनले सञ्चारमाध्यमले यस्ता अभियानलाई व्यापक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खानाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, युवा उद्यमी तारालाल धरेल, रैथाने अभियन्ता तिलक ढकाल तथा न्युजलाईन्स मिडियाकी सरिता ढकाललगायतले रैथाने खानाको प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्नेमा जोड दिए ।
कार्यक्रमका अवसरमा पाककला क्षेत्रमा योगदान पुर्याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो । साथै, विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई कदरपत्रबाट सम्मान गरिएको आयोजकले जनाएको छ ।
न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले रैथाने परिकारहरूको विशेष प्रदर्शनी गरेका थिए । सहभागीहरूले विभिन्न प्राकृतिक तथा स्थानीय परिकारको स्वाद लिन पाएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी, सेफ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।