
काठमाडौँ : विष्णुमती खोला आसपासको क्षेत्रमा हतियार तथा गोली फेला परेको घटनामा सुरक्षा निकायले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका-१५ अन्तर्गत शोभा भगवती क्षेत्रस्थित खोला किनारबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात वटा म्यागजिन बरामद गरिएको हो । प्रारम्भिक विवरणअनुसार बरामद हतियारमध्ये टाइप-५४ मोडेलका पेस्तोल रहेका छन् ।
महानगरपालिकासँग समन्वयमा सञ्चालन गरिएको सरसफाइ अभियानका क्रममा आइतबार बिहान उक्त सामग्री फेला परेको जनाइएको छ । बरामद गरिएका गोलीमध्ये ९ एमएम बेरेटा प्रकारका रहेका छन् ।
प्रहरी स्रोतका अनुसार प्राप्त विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भू बाट खटिएको टोलीले हतियार नियन्त्रणमा लिएको हो । घटनाको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रारम्भिक आकलनमा यी हतियार विगतका आन्दोलनका क्रममा सुरक्षा निकायबाट हराएको हुनसक्ने आशंका गरिएको छ भने यस विषयमा थप पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।