
काठमाडौं : एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘पहिलो सिम’ अफर पुनः सञ्चालनमा ल्याएको छ । यस अफरमार्फत विद्यार्थीहरूले करसहित मात्र ५० रुपैयाँमा प्रिपेड सिम प्राप्त गरी विभिन्न बन्डल सेवाको लाभ लिन सक्नेछन् ।
कम्पनीका अनुसार ‘पहिलो सिम’ लिने विद्यार्थीहरूले आफूलाई मनपर्ने मोबाइल नम्बर छनोट गर्ने सुविधा पनि पाउनेछन् । सिम सक्रिय गरेसँगै २ जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने ५० मिनेट टक टाइम, तथा २८ दिनका लागि अनलाइन लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ र गेमिङ प्लेटफर्म ‘गेमिङ प्रिमियर लिग (जीपीएल)’ मा निःशुल्क पहुँच उपलब्ध हुनेछ ।
‘मेरो स्कुल’ मार्फत विद्यार्थीहरूले पाठ्यक्रममा आधारित विभिन्न शैक्षिक भिडियो सामग्रीहरू अध्ययन गर्न सक्नेछन् भने जिपिएल प्लेटफर्ममा एचटिएमएल आधारित विभिन्न खेलहरू खेल्न सकिने व्यवस्था गरिएको छ ।
यसका अतिरिक्त, ‘पहिलो सिम’ प्रयोगकर्ताहरूलाई खल्ती डिजिटल वालेट निःशुल्क उपलब्ध गराइनेछ, जसको प्रयोग गर्दा डाटा शुल्क नलाग्ने कम्पनीले जनाएको छ । साथै, ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले ७ दिनसम्म मान्य हुने ५०० एमबी बोनस डाटा समेत प्राप्त गर्नेछन् ।
एसइई दिएका विद्यार्थीहरूले देशभर रहेका एनसेल सेन्टरबाट आवश्यक कागजातसहित सजिलै सिम लिन सक्नेछन् । सिम प्राप्त गर्नका लागि एसइई प्रवेशपत्र र अभिभावकको नागरिकताको फोटोकपी आवश्यक पर्नेछ । आवश्यक प्रमाणीकरणपछि सिम तुरुन्तै सक्रिय गरिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
एनसेलले विद्यार्थीहरूलाई सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘पहिलो सिम’ अफरलाई निरन्तरता दिएको बताएको छ । यस अफरले विद्यार्थीहरूलाई अध्ययन, मनोरञ्जन तथा परिवार र साथीभाइसँग सम्पर्कमा रहन सहयोग पुग्ने विश्वास कम्पनीको छ ।